११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

राष्ट्रसंघमा सगरमाथा आरोहीको तस्बिर प्रदर्शनी हुने


१९ चैत्र २०७४, सोमबार  

0
Shares

न्युयोर्क । सगरमाथा शिखरमा पहिलो मानव पाइला राखेको ऐतिहासिक दिन ‘मे २९’ तारिखलाई नेपाल सरकारले सगरमाथा दिवस ‘ एभरेस्ट डे’ को रूपमा बर्सेनि मनाउँदै आएको छ । यसै अवसरमा अमेरिकामा युएस नेपाल क्लाइबर्स एसोसिएसनले हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यस पटक अमेरिकामा नेपाल कन्सुलेट र नेपाल मिसनले एसोसिएसनसँग मिलेर संयुक्त राष्ट्रसंघको भवनभित्र सगरमाथा आरोहीहरुको तस्बिर प्रदर्शनी गर्न लागेको छ । नेपाल सरकारले नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम अन्तर्गत सगरमाथा दिवस मनाउने सिलसिलामा तस्बिर प्रदर्शनी गर्न लागेको नेपाल कन्सुलेटको महाबाणिज्यदुत मधु मरासिनिले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘सगरमाथा दिवसको अवसर पारेर हामीले अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप पहिलो पटक संयुक्त राष्ट्र संघमा नेपाल चिनाउने आरोहीहरुको तस्बिर प्रदर्शनी गर्न लागेको हो’ उनका अनुसार एक हप्ता हुन लागेको प्रदर्शनीमा राष्ट्रसंघमा आबद्ध विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिने भएको छ । प्रदर्शनी हेर्न चाहने नेपाली समुदायलाई पनि नेपाल मिसनले व्यवस्था गर्न लागेको मरासिनिले बताए ।

उनका अनुसार सगरमाथा दिवसकै दिन तस्बिर प्रर्दशनीसंँगै जलवायु परिवर्तन ‘ग्लोबल वर्मिङ’ ले विश्वमा परेको असरबारे पनि सबैलाई चेतना जगाउन न्युजिल्याण्ड सरकारको विशेष सहयोगमा कार्यक्रम गर्न लागेको उनले बताए ।

‘सगरमाथा दिवस मनाउँदै आइरहेको युएस नेपाल क्लाइबर्स एसोसिएसनको विशेष अनुरोधमा तस्बिर प्रदर्शनीसँगै ग्लोबल वार्मिङको कार्यक्रम दुवै गर्न लागेको हो’ नेपाल कन्सुलेटका नायव महाबाणिज्यदुत पुष्पा राज भट्टराईले बताए । उनका अनुसार सगरमाथा दिवसको दिन सगरमाथा आरोहीहरुको तस्बिर प्रदर्शनीको लागि सेन्टरपार्क लगायत विभिन्न चर्चित ठाउहरुमा खोज्दै जाँदा अन्ततः राष्ट्रसंघमा गर्ने निधो गरेको हो ।

‘हामीले हरेक वर्ष सगरमाथा दिवस मनाउने क्रममा यस पटक नयाँ कार्यक्रमको रूपमा तस्बिर प्रदर्शनी गर्न नेपाल सरकारसँग मिलेर गर्न पाउँदा निकै खुसी लाग्यो’ एसोसिएसनका अध्यक्ष पासाङरिन्जी शेर्पाले बताए । उनका अनुसार एसोसिएसनले सुरुमा गुम्बामा बत्ती बालेर आयोजना गर्दै आएको सगरमाथा दिवस अहिले अमेरिकामा व्यापाकताका साथ मनाउँदै आएको छ ।

प्रदर्शनीको लागि एसोसिएसनका उपाध्यक्ष पेमा छेवाङ शेर्पाले आरोहीहरुको ऐतिहासिक तथा दुर्लभ तस्बिरहरू संकलन गरेर प्रदर्शनीमा राख्न लागेको बताए । ‘हामीले गर्ने तस्बिर प्रदर्शनी नेपाल चिनाउने सन्देश मूलक किसिमको हुनेछ,’ पेमछेवाङले भने । कार्यक्रममा एसोसियनका महासचिव आङग्याल्जेन शेर्पा र सल्लाहकार आङछिरिङ शेर्पाको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ९ : ३३ बजे