१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

टिपिएसले निरन्तरता नपाए अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने


१२ बैशाख २०७५, बुधबार  

0
Shares

न्युयोर्क । अमेरिकाको होमल्यान्ड सेक्युरेटी विभागले नेपालीहरुलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ ।

आप्रवासीप्रति अनुदार रहदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि पनि टिपिएस नथप्ने जनाउँदै आएको थियो । नेपालमा २०७२ बैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजपत्रबिना बसेका नेपालीहरुलाई पारिवारिक मिलनको मौका स्वरुप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो । भुकम्पपछि अमेरिकामा रहेका करिब १४ हजार ७ सय ९१ जना नेपालीले टिपिएस सुविधा पाएको थियो ।

१८ महिनाका लागि उपलब्ध गराएको यो सुविधा गत २४ जुन २०१५ देखि अमेरिकी सरकारले नेपालीहरुलाई टिपिएस सुविधा प्रदान गरेको हो । यसअवस्थामा अमेरिकामा कानुनी रुपमा काम गर्न पाउने र आफ्नो देशमा ‍‌ओहोरदोहोर गर्न पाउँछन् ।

नेपाली अधिकारकर्मीहरु भने टिपिएस म्याद थपका लागि लागी परेका छन् । टिपिएसको म्याद नथपेमा ९ हजार नेपाली प्रभावित हुने वासिङटन पोस्टले जनाएको छ ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको यस्तो सुविधा कटौति गरिसकेको छ । । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो । यता सिरियाका नागरिकलाई भने यो सुविधामा निरन्तरता दिने ट्रम्प प्रशासनले तयारी गरेको छ ।

टिपिएसको म्याद जुन २४ तारिखसम्मलाई दिइएको छ । समय थप गर्ने कि नगर्ने भन्ने विषय ६० दिनअघि नै गरिसक्नुपर्ने भएकोले केही दिनमा यसबारे निर्णय आउन सक्ने बताइएको छ । हाल अमेरिकामा ३ लाखले यस्तो सुविधा उपभोग गरिरहेको विवरण ट्रम्प प्रशासनले उपलब्ध गराएको छ ।

विपत्तिमा परेका देशलाई अमेरिकाले सहयोग स्वरुप टिपिएस दिने कानुनी व्यवस्था सन् १९९० मा भएको थियो । यही अनुरुप सन् १९९९ मा पहिलो पटक निकारागुवाले टिपिएसको सुविधा पाएको थियो । त्यतिखेरको सुविधा हरेक पटक १८ महिनाको दरले थप्दै अहिले पनि जारी राखिएको छ । निकारागुवालाई यसपटकबाट यो सुविधा नदिने भएको छ ।

२००१ मा एलसाल्भाडोरले पाएको टिपिएसको म्याद पनि २०१८ सम्म थप्दै ल्याईएको छ । नेपाल भन्दा अगाडी टिपिएसको सुविधा गिनी, हैटी, होन्डुरस, सिरालियोन, यमन, सोमालिया र लाईबेरियाको म्याद पनि पटकपटक थप्दै ल्याईएको छ ।

टिपिएस मार्फत कानुनी आधार तयार भएपछि कामका अवसर बढ्ने र व्यापार गर्न चाहनेका लागि पनि यसले आधार प्रदान गर्दछ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार  ८ : १२ बजे