७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेसले रिक्त पदाधिकारी नियुक्त गर्दै: विधान संशोधनको तयारी


१६ बैशाख २०७५, आइतबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला जेठ महिनाको अन्तिम साता गर्ने निर्णय गरेको छ । त्यसैगरी महासमिति भदौ महिनाभित्र गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

निर्वाचन समीक्षाका लागि चैत ९ बाट सानेपामा शुरु भएको बैठकको अन्तिम दिन आज महामन्त्री शशांक कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गर्दै उक्त निर्णय गरेको हो। बैठकमा तीनै तहको निर्वाचन हारको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने सहमति गर्‍यो ।

त्यसैगरी बैठकले विधान परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको छ। टिकट वितरणमा अनियमितता भएको आरोप लागेको संसदीय बोर्ड सभापति शेरबहादुर देउवाले भंग गरेका छन् ।

पार्टीमा रिक्त रहेका पदाधिकारी मनोनयनका लागि भोलि नै पार्टीका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक हुदै‌छ ।

बिहान ८: ३० बजे पार्टी मुख्यालयमा बस्ने छैटौै वैठक पदाधिकारीको प्रस्तावका लागि आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकले ७ बुँदे निर्णय गर्दै पार्टीलाई बलियो बनाउन एकीकृत राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने र अन्तरघातीलाई कारबाही गर्न अनुशासन समितिलाई निर्देश गरेको छ । त्यसैगरी विजयकुमार गच्छदारसँग पार्टी प्रवेशका बेला भएको सहमतिअनुरुप समायोजन कार्यलाई पनि पूर्णता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आइतबार  ९ : ११ बजे