मच्छे गुरुङ/न्युयोर्क
गत हप्ता क्विन्स ब्रिज पार्क निकै व्यस्त थियो । सिमसिमे पानीले भिजिरहेको त्यो दिन एकतिर युनाइटेड शेर्पा फुटबल क्लबको बालबालिका फुटबल प्रतियोगितामा भिड्न व्यस्त थिए भने किरात राई सोसाइटी अफ अमेरिका महान चाड साकेला मनाउन व्यस्त । बिहानबाट शुरु भएको क्लबको खेल दिउँसो सकिएको थियो भने किराती समुदायको साकेला सिलि दिउँसोदेखि साँझसम्मै ।
ढोल झ्याम्टासँगै ‘सोइ ढोले सोइ’को भाकामा नाच्दै रमाए किराती । रुखको मुनि देवथान बनाएर पुज्दै सोइ ढोले सोइ भाकामा सिलि नाचेको हेर्दा गाउँबस्तीको किरातीको सम्झना दिलाइरहेको थियो । ‘हामी किराती समुदायको वर्ष भरिको महान चाड उभौली साकेलाको उपलक्ष्यमा तपाईहरुलाई सबैलाई स्वागत छ,’ किरात सोसाइटी अफ अमेरिका (केआरएस) न्युयोर्क च्याप्टरका अध्यक्ष भारती राई अतिथिहरुलाई सत्कार गर्दै साकेलाको शुभकामना बाँड्दै थिइन् ।
पुरै किराती राईको मौलिक पोशाकमा ठाटिएका चेलिहरु र किराती पुरुषहरु त्यस दिन साकेला नाच्नमा व्यस्त थिए । उपस्थित पाहुना बाविक्यु खाँदैे साकेला सिलि हेरेर आनन्द लिइरहेका । सिलि नाचमा ५ वर्ष उमेरदेखि युवायुवती जोश उत्तिकै देखिन्थ्यो । ढोल र झ्याम्टासंगै उनीहरु विभिन्न जनावरको नक्कल गर्दै नाचिरहेका थिए । कार्यक्रममा न्युयोर्क आसपासका विभिन्न राज्यमा बसोबास गर्दै आइरहेका किराती तथा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
किराती समुदायले वर्षमा हिउँद उधौलि र वर्षा याम उभौलि साकेलाको रुपमा मनाउदै आएको छ । ‘हरेक वर्षको यतिबेला मनाउँदै आएको साकेला उभौलि पर्व हामी राईहरुको मात्र नभई सिंगो नेपालकै महान पर्व हो,’ केआरएसका सल्लाहकार मणि वाङदेलले भने, ‘पानी पर्ने यो याममा बाढी पहिरो आउने भएकोले उदोको चराचुरुङगी लगायत सवै जीवजन्तु मास्तिर लाग्ने भएकोले यसलाई उभौलि पर्व भनिएको हो ।’
बालीनाली राम्रो सप्रियोस कसैलाई चोटपटक नलागोस भनेर किसानहरुले प्रकृतिलाई पुज्ने विशेष दिन नै उभौलि साकेला भएको सल्लाहकार वाङदेलले बताए । उनका अनुसार केआरएसले हरेक वर्ष न्युयोर्कमा हिउदको उधौलि साकेलामा सुम्निमा साँझ आयोजना गर्दै आइरहेको छ भने वर्षा यामको उभौली साकेलामा पार्कमा बाविक्यु गर्दै साकेला सिलि नाच्दै रमाइलो गर्दै आइरहेको छ । हरेक वर्ष झै यसबर्ष पनि केआरएसले किराती समुदायको उपस्थिति तथा विभिन्न नेपाली समुदायको सहाभागितामा साकेला सिलि कार्यक्रमको आयोजना गरियो ।
औपाचारिक कार्यक्रम गरी साकेला सिलि नृत्य भएको थियो । कार्यक्रमको उदघाटन गैरआवासीया नेपाली संघ एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले गरेका थिए । नेपालको विभिन्न समुदाय अन्तर्गत किराती समुदायको यो मौलिक संस्कृतिले नेपालको परिचय दिएको अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा च्याप्टरकी अध्यक्ष भारती राईले न्युयोर्क सिटी मेयर बिल डि ब्लेजियोले कार्यक्रममा पठाएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् ।
साकेला नृत्यका सिलिमोपा (अगुवा) प्रेम राईले चुला पूजा गरेर साकेला सुरु गरेका थिए । साकेला कार्यक्रमको संयोजन च्याप्टरकी महासचिव निला राईले गरेकी थिइन् । केआरएसए न्युयोर्क च्याप्टरले किराती राई संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले डेढ दशकभन्दा लामो समयदेखि न्युयोर्कमा साकेला मनाउँदै आएको छ ।