६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सगरमाथा दिवसमा आरोहीलाई सम्मान : माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई सगरमाथा पुरस्कार


१५ जेष्ठ २०७५, मंगलबार  

0
Shares

काठमाडौं: एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन (सिम्रिक एयर प्रालि) का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो ।

यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो ।

सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहनुभएको छ ।

त्यसैगरी एकै समयमा सगरमाथा आरोहण चार दाजुभाइमा फुर्वातेञ्जिङ शेर्पा, फुर्वाथिलि, पेम्बादोर्जे र दावादिकी छन् । पुरस्कार र प्रमाणपत्र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रदान गरेकी थिइन् ।

यसअघि बिहान ठमेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो ।

नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पहिलो पटक पुगी विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिएका थिए ।

सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको विसं २०६४ पुस २७ गते निधन भएको थियो । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । हिलारीको निधनपछि सो दिवस मनाउन थालिएको हो । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार  २ : २३ बजे