किराती समुदायले मनाउदै आएको साकेला पर्व हालै बाल्टिमोरमा पनि सम्पन्न भयो । साकेला युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( यायोखा अमेरिका ) केन्दि्रय समिति, डीएमभीपी, डिसी ,मेरिल्याण्ड,भर्जिनिया, पेन्सिल्भानियास्थित स्थानीय च्याप्टरको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा अमेरिका लागी नेपालको राजदुत डा अर्जुन कार्कीले किराती राईहरुको सस्कृति साकेला पर्व किरातीराईहरुको मात्र नभएर संसारभरिकै नेपालीको पहिचानसग जोडिएको बताएका थिए । मातृभूमिबाट जतिनै टाढा भए पनि आफनै भेषभुसामा किराती समुदायका दिदीबहिनीहरु र दाजुभाईहरु सजिएको देख्दा नेपालीको पहिचान दिलाएको बताउदै आफु राई बाहुल्य क्षेत्रमा हुर्कन्दाको सम्झना आएको बताएका थिए ।
कार्यक्रमको संयोजक तथा अर्गनाइजेसनका पुर्व केन्द्रिय सभापति मिलन राईले उपस्थित सवैलाई स्वागत मन्तव्य दिएका थिए । त्यस्तै अर्गनाइजेसनका सभापति बिष्णु राईले किरात भूगोल ,इतिहास ,सभ्यता र पहिचानको आधारमा नेपालको क्षेत्र न १ किरात प्रदेश नामकरण हुनुपर्ने आग्रह गरेका थिए । बाल्टिमोर काउन्टी हाउस डेलिगेटस तथा बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्यान्डीडेट जोनी ओल्गेस्कि, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष तथा अर्गनाइजेसनका वर्तमान सल्लाहकार शिब कुमार राई, अर्गनाइजेसनको मिडिया कोर्डिनेटर सुरेश चामलिंग, अर्गनाइजेसनका पुर्व महासचिव प्रेरणा राई र डी एम भी पी च्याप्टरका बोर्ड चेयर प्रकाश राईले साकेलाको बारेमा बताउदै कार्यक्रम सफलताको शुभ कामना दिएका थिए ।
नेपाली र अमेरिकाको रास्टि्रय गीत संगै भुमि पूजाबाट शुरु भएको उक्त कार्यक्रममा न्यु इंग्ल्याण्ड च्याप्टर ,डी एम भी पी च्याप्टर र न्यु योर्क च्याप्टरले साकेला सिली प्रस्तुत गरेका थिए । कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गितमा न्यू योर्कबाट आएकी कलाकारहरु सजना राई र श्यारोन राईद्वारा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायिका आभा मुकारुङ्ग , प्रकाश राई ,चन्द्र राई, राजेन्द्र राई लगायतले गित प्रस्तुत गरेका थिए । साकेला सिली न्युइंग्ल्याण्ड च्याप्टरको संयोजन धौलबीर राइले गरेका थिए भने डीएमभीपी च्याप्टरको मन्जित राई र न्युयोर्क च्याप्टरको संयोजन सुख राज राईले गरेका थिए । शेखर राई र मारिया राईले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।