१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

यो सरकार पुजारी जस्तो होइन : प्रधानमन्त्री ओली


२५ जेष्ठ २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने निर्देशन दिएका छन् ।

मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए । प्रधानमन्त्री ओलीले जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने भनाइ रहेको थियो ।

“यो सरकार पुजारी जस्ते होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने । अनि भोली फेरी उहि रित दोहोर्‍याउने” प्रधानमन्त्री ओलीले भने “देशलाई हामीले नयां ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।”

प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए । “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने,कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस ” प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै भने “असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ । ”

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकार सुशासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिबहरुलाई यसको प्रत्याभुति दिन प्रधामन्त्री ओलीले निर्देशन दिए । “सरकार भ्रष्टाचारप्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ,कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस ” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार  ७ : ४६ बजे