२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

विश्व शेर्पा मञ्चको पहिलो अनलाइन बैठक सम्पन्न


३० जेष्ठ २०७५, बुधबार  

0
Shares

काठमाडौं । जम्बुलिङ श्यर्वी छोक्पा (विश्व शेर्पा मञ्च)को पहिलो अनलइन बैठक सम्पन्न भएको छ। छोक्पाका अध्यक्ष आङदोर्जी लामा शेर्पाको अध्यक्षतामा जुन ३ मा बसेको बैठकमा पहिलो विश्व शेर्पा सम्मेलनको आयव्यय, संस्थाको विधान र लोगोलाई पूर्णता दिने तथा संस्थालाई दर्ता गर्नेबारे छलफल भयो ।

२०१७ को अक्टोबर ८, ९ र १० मा काठमाडौंको र्‍याडिसन होटलमा आयोजित प्रथम विश्व शेर्पा सम्मेलनबाट जम्बुलिङ श्यर्वी छोक्पा गठन भएको हो ।

छोक्पाका महासचिव पासाङ गेली शेर्पाले संचालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दावा जाङबु शेर्पा, उपाध्यक्षहरु निमा शेर्पा, गेल्मु शेर्पा, ङवाङ नुरी शेर्पा, निमा ग्याल्जेन शेर्पा, महासचिव पासाङ गेली शेर्पा, कोषाध्यक्ष मिङमा शेर्पा, पदेन सदस्यहरु, शेर्पा किदुग बेल्जियमका अध्यक्ष आङदोर्जी शेर्पा सोनाम, शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष मिङमा साङ्गे शेर्पाको उपस्थिति थियो ।

वैठकमा अध्यक्षले प्रथम विश्व शेर्पा सम्मेलनको आयव्ययको पेश गरे। जसमा २० लाख ५६ हजार ७६६ आम्दानी भएको, १५ लाख ६१ हजार ४९२ खर्च भएको र ४ लाख ९५ हजार २७४ भएको उल्लेख गरे ।

बैठकले विश्व शेर्पा सम्मेलन २०१७ को निर्णयअनुसार सम्मेलनमा प्राप्त सुझाबहरुलाई समेटी कार्यसमितिकेा विधानलाई अन्तिम रूप दिने निर्णय भएको हुदाँ अब हुने कार्यसमितिको अर्को बैठकलमा विधानलाई अन्तिम रुप दिनको लागि एउटा उपसमिति बनाउने र उक्त उपसमितिले विधानको अन्तिम मस्यौदा तयार पारी कार्यसमितिबाट अनुमोदन गराउने , जम्बुलिङ शेर्वी छोक्पालाई दर्ता गर्नको निम्ति विज्ञसँग सरसल्लाह लिने र गैर आवसीय नेपाली संघ (एनआरएन)ले अपनाएको प्रणाली कै मुताविक हुने वा अन्य विधि अपनाएर दर्ता गर्ने भन्नेबारेमा अगामी बैठकमा अन्तिम छलफल निर्णय गरेको छ ।

लोगो, लेटर प्याड र छापलाई आउँदो बैठकमै अन्तिम रूप दिने निर्णय भएको छ । कोषाध्यक्ष, मिङमा शेर्पाले गत साल विश्व शेर्पा सम्मेलनअघि लेबीलगायतबाट ५४ हजार रुपैयाँ स‌ंकलन भएकोमा उक्त रकम बैंकमा राखिएको बताए । यसैगरी आगामी दिनमा लेबी संग्रहको लागि पहल गर्ने, विश्वका विभिन्न मुलुकहरूमा बसोबास गरिरहेको शेर्पा समूदायभित्र देखिएको अनावश्यक तडक-भडक र खर्चलाई घटाई मितव्ययिता अपनाउदै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, सामाजिक प्रचलन र मूल्य मान्यताहरुको संरक्षण र संवर्द्धन गर्न र गराउन बिश्वको बिभिन्न शेर्पा संघ सस्थाहरुलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी विभिन्न संचार माध्यमद्वारा विश्व शेर्पा सम्मेलन र विश्व शेर्पा समुदायको पहलहरूलाई विश्वसामु राख्ने अहम भूमिकालाई कदर गर्दै वरिष्ठ शेर्पा पत्रकार आङछिरिङ शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको प्रवक्ता र डिजिटल संचार माध्यम बाट संसारभरिको शेर्पा समुदायलाई जोड़्दै विश्व सेर्पा सम्मेलन सफलता पूर्वक आयोजना गर्न सहयोग गर्नुहुने पेम्बा गेलु शेर्पालाई छोक्पाको मेडिया कोअर्डिनेटरको रूपमा सर्व सम्मितीद्वारा मनोनयन गरिएको छ।

सन २०१८ सालमा सफलता पूर्वक सगरमाथा आरोहण गर्दै विभिन्न किर्तिमान कायम गर्ने शेर्पा समूदायका विभिन्न व्यक्तित्वाहरू बधाई ज्ञापन गर्ने,जम्बुलिङ शेर्वी छोक्पाको कार्यसमिति ठुलो भएको र छोटो समयमा वैठक बसी निर्णयहरु गराउनको लागि एक सानो आकारको सचिवालय गठन गर्ने निर्णय गरियो ।

प्रवक्तामा मनोनित आङछिरिङ शेर्पा गत अक्टोबरमा सम्पन्न प्रथम विश्व शेर्पा सम्मेलनको प्रचारप्रसार समितिका संयोजकसमेत हुन् । नेपालमा रहदाँ एक दशकभन्दा बढी कान्तिपुर दैनिकमा पत्रकारिता गरेको अनुभवसँगै दक्षिण एसियाबाट पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने कीर्तिमानी पत्रकारसमेत हुन् ।

हाल अमेरिकामा पत्रकारितालाई निरन्तरता दिँदै क्रियाशिल शेर्पा नेपाल अमेरिका पत्रकार संघको पुर्व अध्यक्ष र एभरेस्ट टाइम्स अनलाइन र अमेरिकाबाट प्रकाशन हुँदै आएको एभेस्ट टाइम्स पत्रिकाको प्रधान सम्पादक समेत हुन् ।

त्यसै गरी छोक्पाको संचार संयोजकमा मनोनित भएका पेम्बा गेलु शेर्पा शेर्पा संचार समूह नेपालका संस्थापक सचिव र पूर्व अध्यक्ष हुन् । विभिन्न सामाजिक अभियानमा क्रियाशिल उनी हिमालयन शेर्पा संस्कृतिक केन्द्रका पूर्व महासचिव र उपाध्यक्ष समेत हुन । नेपालमा रहँदा गोरखापत्रमा भाषिक पत्रकारिता गरेका उनी हाल पोर्तुगलमा बस्दै आएका छन् । विश्व शेर्पा मञ्चको स्थापनार्थ गठित तदर्थ समितिको बैठकहरुमा विशेष गरी प्रविधिक रुपमा सहयोग गर्दै आएका उनी शेर्पा संघ यूरोपको महासचिव र नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिव समेत हुन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार  ७ : १२ बजे