२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

पेनाल्टी सुटआउटमा बाजी मार्दै इङल्यान्ड क्वाटरफाइनलमा


२० असार २०७५, बुधबार  

0
Shares

ठूला प्रतियोगिताको पेनाल्टी सुटआउटमा बेहोर्दै आएको हारलाई ब्रेक लगाउँदै इंग्ल्याण्डले रसिया विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ।

मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हरायो।

विश्वकपमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा पुगेर खेल जितेको यो पहिलोपटक हो। यसबाहेक सन १९९६ को युरोमा पनि इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएको थियो।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा भएको हो। जहाँ इंग्ल्याण्डलाई जिताउन गोलकिपर जोर्डन पिकफोर्डले माटेउस उरिवको पेनाल्टी रोके भने कोलम्बियाका कार्लोस बाक्को प्रहार बाहिरियो।

इंग्ल्याण्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन, मार्कोस रासफोर्ड, किरण ट्रिपर र एरिक डारले गोल गरे। जोर्डन हेन्डरसनको प्रहार कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले रोके।

कोलम्बियाका लागि कप्तान राडेमल फाल्काओ, जुवान कुअड्राडो र लुइस मुरिएलले मात्र गोल गरे।

कोलम्बियाले लगातार ३ पेनाल्टी गोलमा परिणत गर्दै इंग्ल्याण्डको तेस्रो पेनाल्टी रोक्दै अग्रता बनाएको थियो। तर लगत्तै पिकफोर्डले पेनाल्टी रोकेपछि इंग्ल्याण्ड खेलमा फर्केको हो।

 

प्रकाशित मिति : २० असार २०७५, बुधबार  ८ : २८ बजे