२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सेप्टेम्बर ११ को घटनाले स्वस्थमा असर परेको ठहरिए अझै राहत पाउने


२० श्रावण २०७५, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

सेप्टेम्बर ११, २००१, अमेरिकामा अतांककारीले आक्रमण गरेको दुखद दिन । उक्त घटनामा परी करिब ३ हजार व्यक्तिले जीवन गुमाए । कैंयो घाइते भए भने धेरै घरबारविहिन र बेरोजगार भए । त्यही घटनाका कारण धेरै जसो पीडितहरु विभिन्न किसिमका रोगले थलिए ।

आतंकवादी संगठन अलकायदाले न्युयोर्क शहरको म्यानहटनमा रहेको विश्व व्यापारिक केन्द्र दुई वटा विमानले र अमेरिकी रक्षा मन्त्रालयको हेडक्वाटर रहेको पेन्टागनमा एक विमानले आत्मघाती आक्रमण गरेको थियो ।

त्यही घटनामा मृत्यु भएका, घाइते भएका, घरबारविहिन भएकालाई सरकारले क्षतिपूर्ति र राहत उपलब्ध गराईरहेको छ । यसका साथै त्यही घटनाको कारण १८ वर्षसम्म पनि कसैलाई कुनै रोग लागेमा राहत पाउन सकिने जानकारी कानुन व्यवसायी दुर्गा भुर्तेलले एभरेस्ट टाइम्सलाई दिए । उनकाअनुसार सन् २०१० देखिनै दिँदै आएको पीडितको राहत सन् २०१५ सम्म दिँदै आएको थियो त्यसपछि थप गरेर पुन आगामी सन् २०२० डिसेम्बर महिनासम्म दिने भएको छ ।

‘त्यो घटनामा संलग्न कसैलाई अहिले पछिल्लो समय शारीरिक रुपमा केही समस्याहरु देखापरे वा कुनै रोग लागे वा कसैले काम गर्न नसके सरकारले राहत दिने छ,’ भुर्तेल ल फर्मका एट्रानी दुर्गा भुर्तेलले भने, ‘हामी कसैलाई थाहा हुँदैन कतिखेर कसलाई कस्तो रोग लाग्छ तर त्यो घटनाबाट निस्केको धुवाँ र धुलोको कारण शरीरमा दम, मानसिक रोग, आँखाको रोग, छालाको रोग, मृगौलाको रोग र क्यान्सरहरु देखा परेमा चिकित्सकसँग सम्पर्क गरिहाल्नु पर्छ,’ कानुन व्यवसायी भुर्तेलले भने, ‘पुरुषहरुको साथै महिलामा छातीको समस्या, छाला, टाउको, नसाहरु, ढाड, पाचनक्रिया, श्वासप्रश्वास र गर्भधारणलगायतका समस्याहरु देखेमा पनि सरकारले राहत दिँदै आइरहेको छ ।’

उनकाअनुसार त्यस किसिमको रोगहरुको लक्षण देखिनसाथ वल्ड टे«ड सेन्टरमा रहेको क्लिनिक वा माउन्ट सेनाइ अस्पतालमा रहेको वल्ड ट्रेड सेन्टर हेल्थ केयर प्रोग्रामको चिकित्सकलाई भेटेर स्वस्थ्य जाँच गराउनु पर्छ । चिकित्सकले त्यही घटनाको कारण रोग लागेको हो भन्ने प्रमाणित गर्नेबित्तिकै पीडितले राहत पाउने छ । उनकाअनुसार यो राहत पाउनका लागि क्यानाल स्ट्रिटबाट दक्षिणतिरको काम गर्नेहरु र त्यस क्षेत्रमा बस्ने सबै बासिन्दाहरु हुनुपर्छ । विशेष गरी त्यो घटनाको बेला त्यस क्षेत्रमा काम गर्न गएकाहरु, उद्धारमा गएकोहरु र त्यहाँ बस्नेले भोग्नु परेको समस्याप्रति सरकारले राहत दिने उद्देश्यले राहत कोष स्थापना गरेको हो ।

यो राहत पाउन शारीरिक रुपमा अस्वस्थ भएकालाई चिकित्सकको प्रमाण र काम छाडेको भए कम्पनीले पत्र लेखी दिएको आधार चाहिन्छ । यदि काम गर्ने ठाउँबाट पनि पत्र दिएन भने आफूले उपचार गर्दाको ठेगाना वा त्यतिखेर चिनेको दुई जनाको सिफारिसमा प्रमाण जुटाएमात्र राहत पाइने कानुन व्यवसायी भुर्तेलले बताए । उनकाअनुसार चिकित्सकले प्रमाणित गर्ने वित्तिकै स्वास्थ्यसम्बन्धी समस्या भएको व्यक्तिलाई यसअघि लागेको र भविष्यमा लाग्ने खर्चसमेत सरकारले उपलब्ध गर्ने भएको छ ।

११ को घटना लगत्तै धुलो, धुवाँलगायत मान्छेलाई असर पर्ने कुराहरु भयो । ३ हजारभन्दा बढीले ज्यान गुमाएको छ । कतिलाई दमको रोग लागेको छ । मानसिक समस्याहरु देखिएका छन् । कसैलाई त्यस्तो समस्या देखिएमा तुरुन्त नजिकको अस्पतालमा जाँच गर्न कानुन व्यवसायी भुर्तेलको सुझाव छ । कुनै जिज्ञासा भएमा विस्तृत जानकारीका लागि दुर्गा भुर्तेल ल फर्ममा सम्पर्क राख्न सकिने भुर्तेलले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार  ८ : ५० बजे