नेत्र तामाङ
साउन २१ गते दिउँसो सिन्धुपाल्चोक ज्यामिरेका ११ वर्षे बालक निशान खड्काको अपहरणको खबर सार्वजनिक भयो । त्यतिबेला बालकको ठेगाना सार्वजनिक भइसकेको थिएन । काँडाघारी बस्नेमात्र भनिएको थियो । केही बेरमै बालकको हत्या भएको खबर सार्वजनिक भयो । त्यतिबेला प्रहरीले बालकको ठेगाना सार्वजनिक गर्यो । सिन्धुपाल्चोक ज्यामिरेको भनेपछि मलाई चासो भयो । किनकि ज्यामिरे मेरो गाउँ नवलपुर नजिकै पथ्र्यो । जिल्लाका पत्रकार साथीहरुबाट बुझ्ने कोशिश गरे । तर, पत्ता लागेन ।
साँझ थाहा भयो । बालकको मामाघर मेरै गाउँनजिकै रहेछ । त्यतिबेलासम्ममा अपहरणकारी दुईजनाको ‘इन्काउन्टर’मा मृत्यु भएको खबर सार्वजनिक भइसकेको थियो । प्रहरीको गोली लागी मारिएका दुई जनामध्ये एक जना सिन्धुपाल्चोककै रहेछन् । बालकलाई अपहरण गरी हत्या गर्नेहरुलाई प्रहरीले इन्काउन्टर गरेकोले मनमनै प्रहरीलाई धन्यवाद दिए ।
भोलिपल्टदेखि भने इन्काउन्टरमाथि नै प्रश्न उठ्न थाल्यो । प्रहरीले अपहरणकारीलाई बिहानै कोठामा पुगेर निर्मम कुटपिट गरी आँखा बन्द गरी लगेर भक्तपुरको घ्याम्पेडाँडामा लगी मारेको कुरालाई प्रहरीकै पूर्व अधिकारीलेसमेत शंका व्यक्त गरे । यसबारेमा नयाँ पत्रिकाले प्रश्न उठाएपछि प्रहरीमा एक किसिमको भुँइचालो नै गयो । पूर्व डिआईजी हेमन्त मल्ल ठकुरीले पहिलोपोस्ट अनलाइनसँग कुराकानी गर्दै भक्तपुर इन्काउन्टर अस्वभाविक भएको र प्रहरीको अनुसन्धान टुंगाउने मेलो भएको बताए ।
त्यो दिनभर अनलाइनहरु इन्काउन्ट फेक थियो कि साँचो भन्ने विषयमा केन्द्रित भयो । युट्युब च्यानलहरुमा प्रत्यक्षदर्शी र अजय र गोपाल बस्ने घरबेटीको भनाई राखेर भिडियोहरु आए । दुबैलाई गाडीमा लागेको प्रत्यक्षदर्शीको भनाई आयो । त्यो साँझ मैले गोपाल तामाङका बाआमासँग भेट्ने मौका पाए । छोरा मारिएको खबर सुनेपछि कोदो गोड्दैको मेलो छाडेर उनीहरु काठमाडौं आइपुगेका रहेछन् ।
गोपालका बुवा कान कम सुन्ने रहेछन् र कम बोल्ने पनि । उनकी आमा छिन्डोमा आफ्नो छोरा यसअघि कुनै अपराधमा संलग्न नभएको भन्दै थिइन् र आफ्नो छोरा मारिएको विश्वासै नलागेको भन्दै थिइन् । त्यो साँझ उनीहरुलाई टिचिङमा भेट्दा छोराको शव पनि हेर्न पाएका थिएनन् । बिहानमात्र हेर्न मिल्ने भन्दै उनीहरुलाई फर्काएका रहेछन् । हामी पुगेपछि शव हेर्न पाए छिन्डोमाले । शव हेरेपछि उनी आक्रोशित भइन्– मेरो छोरा नै रहेछ, यस्तो अर्काको बच्चा मार्छ भनेर १० मनमा एक मनमा पनि सोचेको छैन । मेरो छोरालाई किन मार्यो ?
किन मारिए अजय र गोपाल ?
२० गते साँझ अपहरणमा परेका निशानको हत्यारालाई प्रहरीले छिनको छिनमै उडाइदिए । प्रहरीलाई सबैले स्यालुट गरे । सुरक्षा चुस्त र दुरुस्त देखियो । बालकको हत्याको बदला प्रहरीले गरेको इन्काउन्टरको खुलेरै प्रशंसा भएको बेला पत्रपत्रिकाले भने ‘इन्काउन्टर’माथि प्रश्न उठाइसकेको थियो । साउन २१ गते कान्तिपुर दैनिकले सम्पादकीयमार्फत इन्काउन्टरमाथि प्रश्न उठाए । त्यही दिन नयाँ पत्रिकाले प्रहरीले बालक जोगाउन सक्थे भन्ने विषयमा मुख्य समाचार लेख्यो ।
काठमाडौं महानगरीय प्रमुख एसएसपी विश्वराज पोखरेलको एक म्यासेज नै बालकको हत्या भएको उल्लेख गर्दै समाचार आएको थियो । एसएसपी पोखरेलले फिरौती माग्ने अपहरणकारीको नम्बरमा ‘बच्चालाई छाड्दे, नत्र तँ सकिन्छस्,’ भन्ने म्यासेजकै कारण बालक जोगाउन नसकेको समाचारपछि प्रहरीभित्रै अजय र गोपाल इन्काउन्टरमा नभई कोठाबाटै उठाएर मारिएको सत्य मान्न थालियो ।
के प्रमोसनको लागि नै भएको थियो इन्काउन्टर ?
एसएसपी पोखरेल र अनुसन्धान प्रमुख एसएसपी धिरजप्रताप सिंह बढुवाको लाइनमा थिए । दुईमध्ये एक बढुवा हुनसक्थ्यो । पोखरेलले धमाधम काम देखाउँदा यता सिंहले भने काम देखाउन सकिरहेका थिएनन् । त्यसैले पनि तातिएका थिए सिंह । उक्त दिन महानगरीय प्रहरी वृत्तले हात हालिसकेको स्थानमा पनि अनुसन्धानबाट सिंहले सयभन्दा बढी प्रहरी खटाएका थिए । त्यो देखिपछि पोखरेलले अपहरण प्रकरणबाट हात निकाल्यो । एसएसपी सिंहलाई सजिलो भयो ।
उनले अपराधी भनिएका दुईजनाको इन्काउन्टर गरे । जुन फेक हो भनेर पोखरेल विश्वस्त थिए । त्यसैले पनि पत्रपत्रिकामा प्रश्न उठाइनसाथ उनी निकटकाले इन्काउन्टर फेक नै मान्न थाले । त्यसको भोलिपल्ट पोखरेलले पठाएको म्यासेजमा प्रश्न उठ्नु नै उनी सिंह पोखरेलविरुद्ध लागिसकेको अनुमान गर्न सकिन्थ्यो ।
सिंहले अपहरणकारीको सिम बरामद गरी खोल्दा धम्कीपूर्ण म्यासेज डेलिभर भएको थियो । इन्काउन्टर फेक भनी प्रचारमा आएपछि तनावमा रहेका सिंह त्यही म्यासेज समाचारहरुमा दिएर बच्न खोजे । तर, यसले त झनै सिंहको छवि होच्याईदियो ।
आइजी बोलेनन्, गृहमन्त्रीले इन्काउन्टर नै भनिदिए
त्यसपछि इन्काउन्टरको प्रश्न आइजी सर्वेन्द्र खनाललाई होइन गृहमन्त्री रामबहादुर थापाकहाँ पुग्यो । गृहमन्त्री थापा एक कार्यक्रममा भाग लिन इन्डोनेसिया पुगेका थिए । घटनाको चार दिनपछि काठमाडौं आइपुगेका गृहमन्त्री थापाले पब्लिक सेन्टिमेन्टअनुसार इन्काउन्टरलाई नै सही भएको भनिदिए । सोही दिन निशानको अन्त्येष्टि पनि भयो ।
इन्काउन्टरको निष्पक्ष छानबिन हुन्छ भन्ने आशामा बसेका अजय र गोपालका परिवार हिस्सा परे । छानविन बिना दुबैको शव नबुझ्ने अडानमा बसेका अजय र गोपालको शव परिवारलाई जबरजस्ती बुझाउन लगाए र उनीहरुको अन्त्यष्टी साउन २५ गते भयो ।
एसएसपी पोखरेललाई कारवाही ?
इन्काउन्टरमाथि प्रश्न उठ्नका लागि ठाउँ दिएकाले हुनसक्छ एसएसपी पोखरेललाई काठमाडौ महानगरीय परिसरबाट हटाइएको छ । राम्रा काम गरी राम्रा छवि बनाईसकेका पोखरेललाई सरकारले यही घटनाका कारण उक्त पदबाट हटाएको अनुमान लगाउन शुरु भइसकेको छ । उनको ठाउँमा एसएसपी बसन्त लामालाई ल्याइएको छ । नम्बर एक डिआइजी बनेर भविष्यमा आइजी बन्ने पोखरेलको सपनामा तुषारो लागेको छ ।
दुई तिहाईले देखाइदियो मिडियालाई
इन्काउन्टरमाथि प्रश्न उठ्न थालेपछि सबैजसो मिडियाले प्रहरीको कार्यको विरोध थाल्यो । सेतोपाटीले प्रहरीले कोठाबाट उठाएरै लगेर गोली हानी मारेको दाबीसहितको समाचार प्रकाशन गर्यो । देशकै प्रभावकारी र शक्तिशाली मानिएको कान्तिपुरले पनि यस्तो दाबी गरी प्रहरीलाई बाटो बिराउने अधिकार नभएको भन्दै सम्पादकीय नै लेख्यो ।
नागरिक दैनिक, नयाँ पत्रिकालगायतले प्रहरीको इन्काउन्टरलाई फेक नै साबित गरिदियो । तर, ती दुई दिन चर्चामा रहे । त्यसपछि गृहमन्त्री थापाले बोलेको कुरा सत्य ठहरियो । अपहरणकारीको इन्काउन्टरमै मृत्यु भएको ठहर भयो । त्यसपछि मिडियाले पनि प्रश्न उठाएन । यसबाट मिडियाको दम सकिएको देखियो । कि दुई तिहाइसँग मिडियाले पनि केही गर्न सक्दैनन् भनी नेकपाको सरकारले देखाइदियो ।
के सिंह पुरस्कृत होलान् ?
एसएसपी सिंह काठमाडौं परिसरबाट हटाइए । उनी अब दिल्लीस्थित नेपाली दुतावासको कन्सुलरमा सरुवा भएका छन् । त्यता बसेपछि उनले काम देखाउने पाउने छैनन् । यता दुईदर्जन एसएसपी सरुवा गरिदाँ सिंहको नाम आएको छैन । त्यसैले पनि इन्काउन्टर गरेका सिंहलाई सरकारले पुरस्कृत गर्ने देखिएको छ । काठमाडौं परिसर प्रमुखमा बसन्त लामालाई ल्याएर सरकारले जातीय सेन्टिमेन्टलाई कन्ट्रोल गरेको देखिएको छ ।
निशानको हत्यारा को?
अजय र गोपाल प्रहरी इन्काउन्टरमा मारिएसँगै ११ वर्षे निशानको हत्या कसले गरेको थियो भन्ने प्रश्न पनि अझै जीवितै रहेको छ । के उनीहरुले नै निशानको हत्या गरेको थियो त ? प्रहरीका पूर्व अधिकारीहरुले प्रमाण नष्ट गर्न र अनुसन्धान सकाउन यस्तो इन्काउन्टर गरेको हुन सक्ने दाबी गर्दा निशानको हत्याका योजनाकार उम्के कि भन्ने प्रश्न पनि उठेका छन् । तर प्रहरीले दुईजनाको इन्काउन्टर गरेसँगै कतिपयले भने ती दुई नै निशानको हत्यारा भएको र प्रहरीले राम्रो काम गरेको भन्दै प्रशंसा पाइसकेको छ ।
होला त छानबिन ?
साउन २३ गते अजय र गोपालका आफन्त राष्ट्रिय मानव अधिकार आयोग पुगी गैरन्यायिक हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिए । सोही दिन आयोगका निर्देशक यज्ञ अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन भएको जानकारी दिइयो । चार सदस्यको नाम अझै दिइएको छैन । प्रहरीको दबावमा प्रत्यक्षदर्शीले समेत बयान फेरेपछि जबरजस्ती दाजुको अन्त्येष्टि गरेको गोपालका भाई गोपीले भने– हामीले पोस्टमार्टम नगरी शव लिन्नौ भनेका थियौं । पोस्टमार्टम त भयो भने । तर, हामीलाई रिपोर्ट दिएनन । छानबिनको लगभग सरकारी ढोकाहरु बन्द भइसक्यो । अब त्यही आयोगको आश छ । हेरौ के होला ?