यस वर्षको मिस नेपाल नर्थ अमेरिकाको उपाधि मोनिका घलेले पाएकी छन् । न्युयोर्कको मेलरोज बल रुममा अगस्ट ११ मा भएको प्रतिस्पर्धामा १६ प्रतिस्पर्धीलाई उछिन्दै उनी उपाधि जित्न सफल भएकी हुन् ।
लमजुङबाट फ्युचर स्टारबाट एसएलसी दिएकी घले अध्ययनका लागि अमेरिका आइपुगेकी हुन् । भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी उनी अमेरिका साढे एक वर्षयता अमेरिकामा छिन् । आयोजकको कुशल व्यवस्थापन र आफ्नो मेहेनतका कारण ताज पहिरन सफल भएको बताउने उनै पहिलो मिस नेपाल नर्थ अमेरिका मोनिका घलेसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी :
कस्तो रह्यो यात्रा मिस नेपाल नर्थ अमेरिकाको यात्रा ?
प्रतिस्पर्धा हुने थाह पाएपछि फर्म भरें । फर्म भर्दा निकै उत्साह थियो । जब प्राक्टिस शुरु भयो तब डर लाग्न थाल्यो । फाइनल नजिक हुँदै जाँदा झनै डर लागिरह्यो । तर, कहिल्यै नभेटेकाहरुसँग भेट भयो । तालिमभर सबैसँग चिनजान भयो । सबै फ्रेन्ड्ली लाग्यो । घर जस्तै गरी बसियो । सदीक्षा श्रेष्ठले धेरै राम्रारी सिकाउनुभयो ।
नेपालदेखि नै यस्तो प्रतियोगितामा भाग लिने सपना थियो कि ?
सानोमा सोच्थे, यस्तो कम्पिटिसनमा भाग लिए टिभीमा आउँछ । त्यसैले अलिअलि इच्छा लागेको हो । तर भाग नै लिन्छु भनेर कुनै तयारी भने गरेकी थिएनँ । यहाँ आएर आफूलाई प्रस्तुत गर्ने मौका पाएँ ।
अमेरिकामा आएर चाहि यसैमा भाग लिने इच्छा कसरी आयो ?
यो कम्पिटिसनको बारेमा अनलाइनमा देखें । यसमा भाग लिए आत्मविश्वास बढ्छ, लिडरसिप स्किल बढ्छ जस्तो लाग्यो । म मान्छेहरुसँग कम्युनिकेट गर्ने कला पनि सिक्न चाहिरहेकी थिएँ । यी सबै एउटै प्लेटफर्ममा सिक्न पाउने भएकोले मैले कम्पिटिसनभन्दा पनि सिक्ने कुरामामात्र ध्यान दिएर भाग लिएकी हुँ । नयाँ कुराहरु सिक्न सकिन्छ भनेर नै यसमा भाग लिन मन लागेको थियो । यसरी ताज नै जितिन्छ भन्ने लागेको थिएनँ ।
तर, ताज जित्नुभयो, कस्तो लाग्यो त्यो क्षण ?
मेरो नाम एनाउन्स हुँदा ‘मैले जितेको हो र ?’ जस्तो लाग्यो । मलाई विश्वासै लागेन म विनर भनेर । सबैजना एकसेएक थिए । टाइटल जित्नका लागि कोही पनि म भन्दा कम थिएन । तर, शिरमा ताज पहिरेपछि त एकदमै खुसी लाग्यो ।
पहिले त डरले कामिरहेको थियो । मैले जितेन भने सपोर्ट गरिरहेकालाई के भन्ने होला जस्तो लागेको थियो । मेरो मान्छेहरुलाई मैले गरेर देखाए भन्नेजस्तो लाग्यो । यही नै एकदम खुसीको कुरा थियो मेरो लागि ।
आफूले जुन कुरा सिक्छु भनेर भाग लिन जानुभएको थियो, त्यो चाहि सिक्नुभयो त ?
पक्कै पनि त्यही सिकेर नै पब्लिकको अगाडि बोल्न सक्ने भएँ । नडराइकन बोल्न सक्ने भएँ । विभिन्न व्यक्तिहरुसँग भिज्न जानेँ । त्यति धेरै साथीहरुसँग मिलेर बस्न सिकें । त्यही सिकाईबाट नै उपाधि जितेजस्तो लाग्छ ।
यस्तो प्रतिस्पर्धा हाम्रो समूदायमा त्यति राम्रो मानिदैन, के लाग्छ तपाईंलाई ?
यस्तो प्रतिस्पर्धामा लाग्नैपर्छ भन्ने कर त छैन । तर यो नराम्रो भने होइन । आफूमा भएको ट्यालेन्ट टेस्ट गर्ने ठाउँ हो यो । हाम्रो ट्यालेन्ट तिखार्ने प्लेटफर्म हो । यहीबाट मानिसहरुसँग लिंक पनि बढ्छ । पब्लिक रिलेसन राम्रो हुन्छ ।
अबको योजना के हो तपाईको ?
अब त पढाई नै फोकस हो । पढाईको लागि क्रेडिट चाहिने भएकोले क्रेडिट लिँदै छु । मेरो लक्ष्य डाक्टर बन्ने हो । यसका लागि स्कलरसिप अफर आइरेको छ । यसका लागि प्रयास गर्नेछु । डाक्टर बनेपछि नेपाललाई केही गर्न सक्छु कि भन्ने लागेको छ । सक्दो प्रयास गर्नेछु नै ।
तपाईं युवा हुनुहुन्छ, विकासका लागि के गर्नुपर्छ युवाहरुले ?
हरेक युवाको आफ्नै सोचसपना हुन्छ । सबैलाई समेटेर आफूले सोचेको योजनाअनुसार मेहेनत गर्नुपर्छ । पक्कै पनि त्यसैबाट विकास हुँदै जान्छ ।
अन्त्यमा तपाईका छुटेका केही कुरा छन् कि ?
नेपालदेखि अमेरिकामा रहनुभएका सबैलाई धेरै धन्यवाद छ । जसले मलाई सपोर्ट गर्नुभयो । उहाँहरुकै कारण म यहाँसम्म आइपुगें । उहाँहरुले मलाई साहस दिनुभएको थियो । त्यही साहसका कारण मेरा लागि अवसरका ढोका खुल्दै गएको छ । पक्कै पनि आगामी दिनमा नेपाल र नेपालीका लागि केही गर्नेछु ।