एभरेस्ट टाइम्स/काठमाडौं
गत साउन १० गते साथीको घरबाट घर फर्किरहेकी निर्मला पन्तको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मलाको न्यायको पक्षमा विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।
अझैसम्म पनि दोषी पत्ता नलागेको र सरकार नै दोषी बचाउन लागिपरेको भन्दै निर्मलाका बाआमा न्याय माग्न काठमाडौं आइपुगे । भदौ ३० गते माइतीघरमा निर्मलाका निम्ति न्याय अभियानले प्रदर्शन गर्यो । उक्त प्रदर्शनमा निर्मलाका बुबा यज्ञराजले छोरीको न्यायको खोजीमा आफू काठमाडौं आउनुपरेको भन्दै न्याय दिन सरकारसँग आग्रह गरे । ‘निर्मलाका अपराधीमाथि सरकारले निष्पक्ष छानबिन गरी कारबाही गरोस्,’ उनले भने, ‘कसैले पनि राजनीतिकरण नगरी निर्मलालाई न्याय दिलाइदिने अपेक्षा राखेको छु ।’ आमा दुर्गादेवीले पनि न्यायका लागि सबैले बोलिदिन आग्रह गरिन् । ‘अहिले मेरो कोख रित्तो भएको छ । सबै आमाहरूले बुझिदिनुहोला,’ उनले भनिन्, ‘सरकारले आत्मा नदुखाओस्, नत्र हामीजस्ता आमा बाँच्नुको औचित्य छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन पाएपछि दुबैजना कञ्चनपुर फर्किएका छन् ।
प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरेपनि उनलाई छाडिसकेको छ । सोही घटनाका कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको थियो
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परे ।
गृह मन्त्रालयमा भदौ ९ गते गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
पन्तको हत्यारा पक्राउको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अगाडि प्रहरी उपरीक्षक विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो ।
दोषी पत्ता नलागेपछि भदौ ८ गते आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भयो भने गोली लागेर पाँच जना घाइते भए ।
गृह मन्त्रालयले यस घटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहेका थिए । भदौ ७ गते गठित समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको थियो । त्यसैगरी निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि भन्दै भीमदत्तनगरपालिका–१८ का रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएको थियो । रोशनी बम बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो ।
जोसुकै हुन् दोषीलाई कार्वाही हुन्छ- प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कार्वाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।
म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।
— KP Sharma Oli (@PM_Nepal) September 17, 2018
घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कार्वाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार असोज १ गते पुगेका निर्मलाका बुबा–आमासहित प्रदेश नम्बर– ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।
उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कार्वाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बन समेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो ।
प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कार्वाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।’
उनले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने जनाए ।
दोषी पत्ता नलाग्दा सबैभन्दा बढी मै असन्तुष्ट : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् ।
निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई भदौ २९ मा गृहमन्त्रालयमा भेट्दै मन्त्री थापाले भने, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उहाँले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताए ।
गृहमन्त्री थापाले भने, “कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ । घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ ।”
घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारे । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्रीले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए ।
उक्त अवसरमा निर्मलाका आमा, बाबुले घटना घटेको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।
अपराधीले उन्मुक्ति पाउँदैन–खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । भदौ २२ गते कञ्चनपुरको भीमदत्तनगर पुगेर खनालले उक्त भनाई राखेका हुन् ।
महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उनको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर भदौ २२ बाट सुरुवात भएको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनको धारणा थियो । “अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक सङ्घसंस्थासित समन्वय गरेर अघि बढ्छौँ,” खनालले भने, “न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।”
छुटे दिलीपसिंह
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् ।
प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । बबिता बमलाई भने रु ३० हजार धरौटीमा छाडिएको छ ।
“बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,” ओझाले भने । बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए ।
बिष्टको डिएनएसमेत म्याच नभएपछि र प्रमाण नभेटिएकाले साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । हत्याको अनुसन्धान भने जारी रहेको उनले बताए ।
डिएसपीसहित पाँच प्रहरी निलम्बित१३ वर्षीय किशोरी निर्मला पन्तको अनुसन्धानमा लापरबाही भएको भन्दै गृह मन्त्रालयले भदौ ३० गते थप पाँच प्रहरीलाई निलम्वित गरेको छ । भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार पाँच जना प्रहरीलाई निलम्वित गर्ने निर्णय गरेको हो । निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् । डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्ने गएका प्रहरी हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो । ब्यूरोबाट डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्य टोलीले अनुसन्धान थालेको थियो ।
घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो । अहिले केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको टोली कञ्चनपुर पुगेर पुनः अनुसन्धान गरिरहेको छ ।