११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

युवालाई आकर्षित गराउन दोहोरी ब्याटल, तिहारपछि अर्को आउँदै – गायिका प्रिती आले मगर


७ कार्तिक २०७५, बुधबार  

0
Shares

स्टेज कार्यक्रममा लोकदोहोरी मनपराउनेमात्र हैन नयाँ पुस्ताको पनि माग हुने गर्छ गायिका प्रिती आले । दुई दर्जन बढी एल्बम बजारमा ल्याइसकेकी उनी बेल्ली डान्स र दोहोरी ब्याटलबाट उत्तिकै चिनिएकी छिन् ।

हालसम्म दुई सयभन्दा बढी गीतमा स्वर भरिसकेकी तनहुँकी प्रिती अहिले दशैं घुमफिरमा व्यस्त छिन् । विदेशमा रहेका नेपालीलाई नेपालको झल्को दिन उनी क्यानडामा आइपुगेकी छिन् । यसै अवसरमा उनै गायिका प्रिती आलेसँग एभरेस्ट टाइम्सका लागि ङिमा पाख्रिनले गरेको कुराकानीको सम्पादित अंश:

निकै व्यस्त हुनुहुन्छ, कसरी शुरु गर्नुभयो गायन यात्रा ?
मैले सानै उमेरबाट गायन शुरु गरेकी हुँ । संघर्ष सानैबाट नै शुरु भयो । तनहुँमा जन्मे । त्यहाँको हावापानी र वातावरण नै लोकदोहोरी थियो । म त्यही हुर्कें । १२ – १३ वर्षदेखि नै ठुला दिदीहरुको भींडमा बसेर दोहोरी गीत गाउन शुरु गरें । दोहोरीमा पनि गीत गाएँ । दर्शकको मायाले अहिले सफलताको सिँढी चढ्दैछु । व्यस्त हुँदैछु । स्टेज कार्यक्रमहरुमा निम्तो पाइरहेको छु । देशविदेश गर्न पाइरहेको छु ।

सानोमा कस्ता गीतहरु गाउनुहुन्थ्यो ?
त्यतिबेला दिदीहरुसँग बसेर गाउने हो । ‘फुलबुट्टे चोलीमा’ बोलका गीतहरु चल्थे । त्यही गीत गाएँ । पछि ‘फुल्यो भँमरी’ आयो । यसले चर्चामा पायो । दर्शकले मनपराए ।

स्टेज कार्यक्रम पनि सानैदेखि पाउन थाल्नुभयो कि ?
स्टेज कार्यक्रम सानैदेखि नै पाएँ । यसैले गर्दा स्टेजमा कस्तो प्रस्तुति चाहिन्छ भन्ने ज्ञान पनि भयो । यसैले होला, अहिलेसम्म २५–३० पटक विदेशका कार्यक्रम सहभागी हुने अवसर पाइसकेकी छु । अहिले १८–१९ देशमा पुगिसकेको छु । कार्यक्रमहरु बढिरहेकै छन् ।

देशविदेश गर्दा श्रोतादर्शकहरुको प्रतिक्रिया के पाउनुहुन्छ, के भिन्नता पाउनुहुन्छ ?
श्रोतादर्शकबाट प्रोत्साहन पाइरहेकै छुँ । अलिकति फरक भनेको नेपाल, मलेशिया कतारतिरका नेपालीले नयाँ लोकदोहोरी अपडेट भएको पाइयो । तर क्यानडा बेलायततिर अलि अपडेट नभएको पाइयो । उहाँहरुसम्म पुग्न गीत भाइरल नै हुनुपर्ने रहेछ । ब्याटल निकै चर्चित भयो । प्रकाश सपुत भाइसँग मिलेर पहिलोपटक यस्तो गीत गरेको थियो ।

टोरोन्टोको प्रस्तुति कस्तो रह्यो ?
यसपटक टोरोन्टोको कार्यक्रम राम्रो भयो । सोचेभन्दा धेरै राम्रो भयो । उपस्थिति राम्रो थियो । बालबालिकादेखि वृद्धवृद्धासम्म आइपुग्नुभयो ।
दर्शकको अपेक्षाअनुसार नै मैले प्रस्तुति दिएँ । सबैले इन्ज्वाय गरेजस्तै लाग्यो । मलाई पनि रमाइलो लाग्यो कार्यक्रम । यहाँ पनि दोहोरी ब्याटल प्रस्तुति दिएँ ।

यो ब्याटल दोहोरी र लोक दोहोरीमा के भिन्नता छ ?
प्रस्तुति मात्र फरक हो । दोहोरीमा पनि भनाभन हुन्छ । सवालजवाफ हुन्छ । अलिकति नरममात्र हुन्छ भन्ने हो । न्यु जेनेरेसनले लोकदोहोरी भन्ने वित्तिकै नाक खुम्च्याएको देखिन्छ । उहाँहरु र्‍याप ब्याटलमा आकर्षित छन् । उहाँहरुलाई लोकदोहोरीमा तान्न नै ब्याटल गाएका हौं ।

लोकदोहोरी गायन कलालाई कस्तो रुपमा हेर्नुभएको छ ?
लोकदोहोरी अद्भुत कला हो । जोकोहीको क्षमताले भ्याउँदैन । प्रत्यक्ष गाउन सक्नेलाई म एकदम मान्छु । दिमागको खेल हो । दुई मिनेटमा सुरताल मिलाएर सवालजवाफ दिनुपर्छ । त्यो तत्कालै निर्णय गर्न सक्ने, शब्द चयन गर्नपर्ने लय मिलाउनुपर्ने हुन्छ । तत्काल सिर्जना गर्नूपर्ने भएकोले यो अद्भुतै हुन्छ ।

तपाईले अहिलेसम्म लोक पपदेखि दोहोरीसम्म गाउनुभएको छ, कुनमा विधामा बढी गाउनुभयो ?
सबैभन्दा बढी दोहोरी नै छ । लोक पपपनि गाएकी छु ।

गायन नै तपाईको पेशा हो, अहिलेको अवस्था कस्तो छ गायनमा ?
म पूर्ण रुपमा गायनमा निर्भर छु । क्षमता हुनेका लागि यो पेशा राम्रो छ । पहिले अलि राम्रो थिएन होला । त्यही भएर कतिपय सिनियर कलाकार विदेशमा भाँसिनुपर्ने अवस्था आएको होला । अहिले त्यस्तो छैन । क्षमता भएमा जीविकोपार्जन हुन्छ । नेपालमा पनि मेला महोत्सव भइरहेका हुन्छन् । क्षमतावान कलाकार महिनामा २५ दिन त व्यस्तै हुन्छन् ।

पछिल्लो समय दोहोरीलाई व्यापारको माध्यम बनाए भन्छन् नि ?
यसलाई कसरी लिने भन्ने कुरा हो, सकारात्मक रुपमा लिए राम्रो हो, नकारात्मक रुपमा लिए नराम्रो । रक्सी बेच्ने माध्यम बनाइयो भनेर नेगेटिभ रुपमा मात्र नहेरौ । रोजगारी पनि सिर्जना गरिरहेको छ । त्यसैले दोहोरी साँझलाई हामीले कसरी लिने भन्ने कुरामा भर पर्छ । मैले पनि दोहोरीमा लामो समय काम गरें । दोहोरीमा कलाकार आफै अलि उत्ताउलो हुन्छ नै । तर छाडा हुनु भएन । यसमा कलाकार आफै संयमित हुनुपर्छ ।

अन्त्यमा नयाँ कोसेली के ल्याउँदै हुनुहुन्छ ?
तिहार पछि दोस्रो ब्याटल ल्याउँदैछौ । अर्को लोक पप गीत पनि आउँदैछ । ‘मन परेको जुत्ता पो जुत्ता’ पप गीत तयारी छ । कति ठाउँको स्टेज कार्यक्रममा त प्रस्तुति पनि दिइसकें ।

फोटो-रामकाजी मोक्तान / क्यानडा  

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ७ : १० बजे