काठमाडौं।डा गोविन्द केसीले निर्मला पन्तको हत्यारालाई मुद्दा चलाउन र विगतमा भएका सम्झौता कार्यान्वय गर्न माग गरेको छ।
सोमवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले तीन माग प्रस्तुत गरेका छन्। ती माग पुस २ गतेसम्म पूरा नभएमा सत्याग्रहसमेतको आन्दोलन शुरु गर्ने केसीले चेतावनी दिएका छन्।
कार्यक्रममा मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीहरुको योग्यताको आधारमा नि:शुल्क वा सस्तो शुल्कमा चिकित्सा शिक्षा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि आफु निरन्तर लडिरहेको डा.केसीले बताए।
विगतका सम्झौंता कार्यन्वयन गर्नको सट्टा झन् झन् भ्रष्टाचार र अकर्मण्यतामा भासिदै गएकोले सरकारलाई निम्न मागहरु पुस २ गते सम्ममा पूरा गर्न ध्यानाकर्षन गराउदै केसीले भने, आफुहरुले पेश गरेको मागहरु उल्लङ्घन गर्ने गरी कुनै चालखेल भएमा जुनसुकै बेला सत्याग्रहसमेतको आन्दोलनमा उत्रिने चेतावनी दीए।
डा.केसीका मागहरु
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।
क, सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।
ख, गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस्। त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।
ग, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्।
२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस्।