न्युयोर्क । जनजाति आन्दोलनका अगुवा पहिचानवादी नेता, वरिष्ठ मानवअधिकारवादी पद्मरत्न तुलाधरको सम्झनामा न्युयोर्कमा श्रद्धान्जली सभा आयोजना सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)ले ज्याक्सन हाइटमा आयोजना गरेको सभामा महा वाणिज्यदूत कार्यालयका वाणिज्यदूत कृषु क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू पत्रकारहरू लगायतले स्व. तुलाधरको तस्बिरमा फूल चढाएर श्रद्धान्जली व्यक्त गरे ।
सभामा वाणिज्यदूत क्षेत्रीले राज्य सत्ताले जनजातिमाथि गरेको विभेदपूर्ण व्यवहारकाविरुद्ध पहिचानको क्षेत्रमा तुलाधरले पुर्याएको योगदानको चर्चा गर्दै तुलाधर पहिचानको लागि नेतृत्व गर्ने अगुवा रहेको बताए । फिप्नाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले स्व.तुलाधरले सुरु गरेको आन्दोलनलाई स्थापित गराए मात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुने बताए । शेर्पाले मुलुकमा भइरहेको विकृतिले वितृष्णा जागेको उल्लेख गर्दै राम्रो कुरालाई आत्मसात् गर्दै जानुपर्ने धारणा राखे । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले जनजाति र मानव अधिकारको पक्षमा तुलाधरले उठाएको मुद्दालाई स्थापित गराउनुपर्नेमा जोड दिए । जनसम्पर्क समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले तुलाधर कुनै समुदायको मात्र नभएर सम्पूर्ण नेपालीहरूको नेता रहेको भन्दै प्रजातान्त्रिक आन्दोलन र भाषिक आन्दोलनमा तुलाधरले गरेको योगदानको चर्चा गरे ।
नेवा: गुठीका अध्यक्ष निर्मल प्रधानले नेपाल भाषा मंका खल: को स्थापना गरेर नेपाल भाषा आन्दोलन र जनजाति आन्दोलनमा तुलाधरले पुर्याएको योगदानको चर्चा गरे । फिप्नाको वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले जनजातिलाई अधिकार स्थापित गराउन तुलाधरको पदचापलाई पछ्याउनुपर्ने बताउँदै सबैलाई धन्यवाद दिए ।
नेपाल भाषा मंका खल: का अध्यक्षसमेत रहेका तुलाधरले मातृभाषालाई सरकारी मान्यता दिलाउन आन्दोलनको शुरुवात गरेका थिए । आदिवासी जनजातिको अधिकारबारे जनतालाई जागरुक बनाउँदै जनजातिको अधिकारको लागि लड्ने अगुवा नेताको रूपमा चिनिन्छन् तुलाधर ।
कार्यक्रममा जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ, नेपाल अमेरिका पत्रकार संघ नेजाका कोषाध्यक्ष मच्छे गुरुङ, गुरुङ तमु सोसाइटीका अध्यक्ष पदम गुरुङ, याक्थुङ चुम्लुङका अध्यक्ष दीपेश लिम्बु, क्लाइम्बर्स एशोसिएनका अध्यक्ष पासाङ रिञ्जिन शेर्पा, नेपाल अमेरिका मगर संघका अध्यक्ष कुलदिप राना मगर, नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मीहरू उपस्थित थिए ।
पञ्चायती व्यस्थाविरुद्ध लडेका तुलाधर, २०५१ मा श्रम र स्वास्थ्य मन्त्रीसमेत भएका थिए । तुलाधरले शान्ति प्रक्रियाको निम्ति, सरकार र माओवादी वार्ता टोलीका मध्यस्थकर्ताको रूपमा काम गरेका थिए । स्व. तुलाधर सामाजिक न्याय र समानताका पक्षधर, शान्ति र समृद्धि प्राप्तिका संघर्षका अथक अगुवाको रूपमा परिचित छन् ।
तुलाधरको ७८ वर्षको उमेरमा गत कात्तिक १८ गते निधन भएको थियो । तुलाधरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दल, मानव अधिकारकर्मी लगायतले शोक व्यक्त गरेका थिए ।