काठमाडौं । डिपास इन्टरनेसलले मिस र मिस्टर शेर्पा प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफ्नो ब्यानर सार्वजनिक गर्दै मिस र मिस्टर शेर्पा प्रतियोगिता गर्ने घोषणा गरेको हो । गत वर्षदेखि यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोगिता भने नेपालकै पहिलो प्रतियोगिता हुने डिपासकी कार्यकारी प्रमुख छेल्यहामु शेर्पाले बताइन् ।
शेर्पा समुदायभित्र खुम्चेर रहेका प्रतिभालाई बाहिर ल्याउनका कार्यक्रम गर्न लागिएको शेर्पाले बताइन् । कार्यक्रममा गत वर्ष मिस शेर्पाको उपाधि जित्न सफल तथा सहभागी प्रतियोगीलाई डिपासले मायाको चिनो, प्रमाणपत्रसहित सम्मानका साथ बिदाइसमेत गरेको छ ।
मिस शेर्पाको नयाँ संस्करण र मिस्टर शेर्पाको पहिलो प्रतियोगिताग डिसेम्बर पहिलो साताबाट सुरु भएर फाइनल पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ । शेर्पा समुदायभित्रका युवा युवतीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउनका लागी एसइईमाथि अध्ययन गरेका १६ वर्ष माथिका नेपाली नागरिक र अविवाहित युवा युवती हुनु पर्ने डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ छेल्हमुले जानकारी दिइन् । मिस शेर्पा २०१८ की विजेता आगामी अप्रिल, २०१९ मा हुने मिस टुरिजम वल्डमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर मिल्नेछ ।
७ वर्ष पहिले सुरु भएको मिस शेर्पा प्राविधिक कारणले रोकिएकाले डिपासले गत वर्षदेखि पुनः सुरु गरेको हो । प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सांसद जिपछिरिङ शेर्पाले मन्तव्य राख्दै शेर्पाहरूको कला संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै आयोजकलाई धन्यवाद तथा शुभकामना दिए ।