२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

न्युयोर्क सिटीको सेवासुविधाबारे जानकारी दिन सामूदायिक मेला


१४ मंसिर २०७५, शुक्रबार  

6
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

न्युयोर्क सिटीले के कस्तो सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ? यसैबारेमा जानकारी दिन हालै सामुदायिक स्रोत मेला आयोजना गरियो ।
मेलाबाट विभिन्न समूदायले न्युयोर्क सिटीबाट प्रदान गरिने सेवा र अवसरबारे जानकारी पाएका छन् । समुदायले वातावरण संरक्षणसँगै दैनिक जीवनयापनमा प्रयोग गरिने सरसामानहरूको साथै मुनाफारहित संस्थामार्फत सिटीबाट पाउने सुविधा र सहयोगबारे जानकारी पाएका हुन् ।
यसका साथै साना व्यवसाय गर्नेका लागि व्यवसाय गर्दा पाउने सुविधा र नियमहरुकोबारेमा जानकारी लिएका थिए । त्यस्तै हिउँद याममा आगलागी हुँदा समूदायले भोग्नु परेका कष्ट र आगलागी नियन्त्रक निकायसँगबाट पाउने सुविधाबारे पनि जानकारी पाएका थिए । अधिकांश सवारी चालक रहेको न्युयोर्कमा टेक्सी लिमोजिन कमिसनले कस्तो कार्यहरूको गरिरहेको छ र आगामी नयाँ नीतिको बारेमा चालकले सम्बन्धित व्यक्तिसँग भेटेर छलफल गरेका थिए ।

त्यस्तै न्युयोर्क सिटीको यातायात विभागले समुदायसँग गरिरहेको सहकार्य र उनीहरूको नियमको बारेमा पनि समूदायले जानकारी लिएका थिए । न्युयोर्कवासी विभिन्न समुदायको प्रत्यक्ष सरोकार राख्ने ती निकायका व्यक्तिलाई एकै ठाउँमा भेटेर जानकारी आदानप्रदान गरिएको थियो । सिटीबाट पाउने सुविधाको साथै सिटीको विभिन्न निकायले समुदायलाई दिँदै आएको सहयोगको बारेमा जानकारी दिने उद्देश्यले न्युयोर्क सिटी काउन्सिल डिष्ट्रिक २२ ले सामुदायिक स्रोत मेलाको आयोजना गरेको हो ।

मेलामा नेपाली समुदायहरूको तर्फबाट एनआरएन न्युयोर्क च्याप्टर सहआयोजकको भूमिकामा थियो । मेलामा न्युयोर्क सिटीका विभिन्न निकायका प्रतिनिधिहरूसँग नेपाली समुदायले प्रत्यक्ष जानकारी लिएका थिए । मेलामा यातायात, वातावरण, संस्कृति, टिएलसी र सानो व्यवसायसँग सरोकार राख्ने विभागका प्रतिनिधिकोसमेत उपस्थिति थियो ।

विभिन्न दक्षिण एसियाली मुलुकका नागरिकहरूले मेलाको अवलोकन गर्दै सम्बन्धित निकायका प्रतिनिधि र सिटीका एजेन्सीसँग भेटेर विभिन्न राय सुझाव र जानकारी लिन पाएका थिए । ‘न्युयोर्कवासी दक्षिण एसियाली समुदायहरूको भावनालाई कदर गर्दै उनीहरूले न्युयोर्क सिटीबाट पाउने सुविधाको बारेमा जानकारी दिने उद्देश्यका साथ यो मेला आयोजना गरेको हो,’ न्युयोर्क सिटी काउन्सिल डिस्ट्रीक २२ का काउन्सिल मेम्बर कोष्टा कोस्टानटिनडिसले भने, ‘समुदायले यस किसिमको मेलाबाट प्रत्यक्ष रूपमा जानकारी लिएर लाभन्वीत होस भन्ने हाम्रो चाहना हो ।’

दक्षिण एसियाली मुलुकको बहुसंस्कृतिलाई ध्यानमा राखेर आगामी दिनमा पनि यस्तो मेला गर्ने योजना रहेको काउन्सीलमेन कोस्टाले बताए । मेलामा डिपार्टमेन्ट अफ ट्रान्सर्पोटेसन, डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन, डिपार्टमेन्ट अफ कल्चर अफेयर्स, टेक्सी एन्ड लिमोजिन कमिसन, डिपार्टमेन्ट अफ स्माल बिजनेस सर्भिस र डिपार्टमेन्ट अफ कन्जुमर्स एफेयर्सका प्रतिनिधिहरूले करिब ३ घण्टा समुदायसँग साक्षात्कार गरेका थिए ।

‘सिटीका कतिपय सुविधाका बारेमा थाह थिएन, ती कुराहरू सिक्न र बुझ्न पाउँदा धेरै खुसी लाग्यो,’ एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले भने, ‘हामी बस्ने सिटीले दिइरहेको सुविधाहरू समुदायले थाहा पाओस् र सुविधा लियोस भन्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।’ कार्यक्रममा भविष्यमा नेपाली समुदायको कुनै पनि कार्यक्रमहरू गर्न लागे सिटी काउन्सिललगायत विभिन्न निकायले आवश्यक सहयोग गर्ने वचनसमेत दिएको अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा नेपाली समुदायको साथै चाइनिज, बंगाली, पाकिस्तान, इन्डियन र नेपालीहरूको बाक्लो उपस्थिति थियो । नेपाली समुदायबाट कार्यवाहक महावाणिदूत पुष्पराज भट्टराई, एनआरएन डिआसी नवीन शेरचन, महासचिव बीआर लामाको साथै विभिन्न समुदायको प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ११ : २१ बजे