३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

जनजातिका पर्वमा विदा नदिए सिंहदरबारभित्र पसेर हात हाल्ने महासंघ अध्यक्ष बरामको चेतावनी


४ पुस २०७५, बुधबार  

0
Shares

काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले नेपालका आदिवासी जनजातिले आफ्नो पर्वमा पाउँदै आएको बिदा वर्तमान सरकारले कटौति गरेकोमा विरोध जनाएका छन्।

आज काठमाडौंको माइतीघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बरामले माग पुरा नभएमा सिंहदरबार पसेर हात हाल्ने चेतावनीसमेत दिए।

‘हाम्रो माग सुनुवाई भएन भने सिंहदरबारभित्र पसेर हात हाल्न नपरोस्,’ बरामले भने, ‘विश्वयुद्ध लडेका जनजाति हुन्। राजा फाल्न लडेका छन्। सिंहदरबारभित्र पसेर हात हाल्न नपरोस।’

पुसको ६ गतेसम्म सरकारले जनजातिको चाडको बिदा घोषणा नगरे महासंघले आफैले बिदा घोषणा गर्ने उनले बताए। नेपाललाई सबै जातजातिको देश बनाउनुपर्ने माग गर्दै उनले भने, ‘हामी न्यायको पक्षमा छौ। स्वतन्त्रताको लागि हामी लडेका हौ। लोसार, उधौली उभौली र माघे संक्रान्तिमा बिदा चाहिन्छ भन्ने हाम्रो माग हो।’

‘आदिवासी जनजाति एक हौ। सांस्कृतिक विभेद अन्त्य गर, जनजातिका चाडपर्वमा दिँदै आएको बिदा पुनर्स्थापना गर,’ जस्ता नारासहित आज महासंघ आवद्ध जनजातिले माइतीघरमा सरकारको कदमको विरोध गरेको थियो।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  ३ : ३५ बजे