आङछिरिङ शेर्पा/न्युयोर्क
हुने बिरुवाको चिल्लो पात भने झैँ सानैदेखि अध्ययनसँगै लेखनमा रुचि राख्दै आएका न्यु योर्क निवासी युवा राजन थपलिया अमेरिकामा धेरै पुस्तक लेख्ने नेपाली लेखकको रूपमा चिनिएको छ । ३० वर्षीय थपलियाले करिब एक दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । ती पुस्तकहरूमध्ये पछिल्लो समय प्रकाशित सय प्रतिशत जीवन (हन्ड्रेड परसेन्ट लाइफ) चर्चित पुस्तकको रूपमा लिइन्छ । गत वर्ष प्रकाशित यो पुस्तक सर्वोच्च शिखर सगरमाथामा आरोही दावा शेर्पाले विमोचन गरेका थिए ।
दोस्रो संस्करणसमेत प्रकाशित पुस्तकमा जीवनमा प्राप्त हुने महत्त्वपूर्ण उपलब्धिहरू, परिवर्तनहरू र आत्मविश्वास प्राप्त गर्ने जानकारी समेटिएका छन् । नेपालको धादिङमा जन्मेका लेखक थपलियाले काठमाडौँको स्वयम्भूस्थित मञ्जुश्री विद्यालयबाट प्राथमिक शिक्षा लिएका थिए । कक्षा ५ मा अध्ययन गर्दादेखि नै आइसटाइन र चल्र्स डार्बिनको पुस्तक पढ्ने बानी परेका उनी त्यतिखेर देखि नै पुस्तकालय धाउँथे । अध्ययनसँगै लेखनमा रुचि राख्दै आएका थपलियाले कक्षा १० मा पढ्दापढ्दै नेपाली अङ्ग्रेजी दैनिक काठमाडौँ पोस्टमा लेखहरू लेख्न थाले । नेपालको चर्चित अङ्ग्रेजी दैनिकमा लेखहरू छापिएपछि उनी साथीहरू माझ लोकप्रिय हुँदै गए । विद्यालयको अध्ययनसँगै खाली समय अमेरिकन र ब्रिट्रिस पुस्तकालय गएर ज्ञान बटुल्ने बानीकै कारण उनको लेखनमा रुचि बढ्दै गएको थियो ।
बाबुआमाको निम्तोमा उनी एसएलसी पास गरेपछि सन् २००७ मा न्युयोर्क आएका थिए । न्युयोर्क आएपछि बाबुआमाकै सहयोगमा उनले लिबार्टि हाइस्कुलमा उच्च अध्ययन सके लगतै मर्सी कलेज म्यानह्टनमा दुई वर्षको अध्ययनपछि पिएस युनिभर्सिटीबाट बायोलोजिमा ब्याचलर र मास्टर गरेका थिए । लगतै उनले हार्लेमस्थित न्युयोर्क स्कुल अफ फुड अफ मेडिसिनबाट उच्च अध्ययन गरिसकेका छन् । उनले कलेजको नियमित अध्ययन र दैनिक कार्यसँगै बचेको समयमा कहिले ट्रेनमा जाँदाजाँदै कहिले व्यायमशाला कुद्दाकुद्दै फोनमै पनि लेख्दै र पुस्तक लेख्ने समयमा रातको १२ बजेसम्म बसेर पनि पुस्तक तयार पर्दै आएको उनको अनुभव रहेको छ ।
‘नेपालबाटै लेख्न सुरु कार्यलाई निरन्तरता दिँदै अमेरिकामा आएर २५ वटा पुस्तक लेखे तर १२ वटा पुस्तक छाप्न सफल भयो,’ लेखक थपलियाले भने । उनका अनुसार अहिलेसम्म छापेको पुस्तकहरूमा थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाइन्ट, चेन्ज योर्स फयुचर्स, इन आवर कन्ट्री ,द ओल्ड म्यान एन्ड डग, द सेक्रेट मिलेनियर, लाइफ ईज नट ईजी, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस ,हन्ड्रेड पर्सेन्ट लाइफ र फिफ्टी फाइभ ईयर्स हुन् । ती पुस्तकहरू अमेजन, बान्स एन्ड नोभल र इभेबाट प्रिन्ट र अनलाइनबाट किन्न सकिन्छ । यीमध्ये हान्ड्रेड परसेन्टको मूल्य सबैभन्दा धेरै १० डलर रहेको छ भने अन्य ७ र ५ डलर रहेका छन् ।
‘नेपालबाट आएको मान्छेले पनि किताब लेख्न सक्छ र ? भनेर सोध्ने केही जमातलाई नेपालीले किताब लेख्न सक्छ भनेर लगातार पुस्तक लेखेर देखाउन पाउँदा आनन्द लागी रहेको छ,’ थपलियाले भने, ‘आफूले लेखेको पुस्तक अरूले चासो दिएर पढेर राम्रो टिप्पणी गरिरहेको पाउँदा खुसी मात्र नभई हौसला थपिएको छ ।’
यद्यपि यति धेरै किताब लेखे पनि लेखन कार्य भने जटिल भएको उनी बताउँछन् । ‘लेखन कार्य समय व्यवस्थापन गर्न सके मात्र लेख्न सजिलो हुने रहेछ,’ थपलियाले भने । अमेरिका आएको एक वर्षपछि उनले लेखेको कविता ‘मिस्टीक नेपाल’ नेपालको विद्यालयको पाठ्यपुस्तकमा राखिएका छन् । सन २००८ तिर पोइम हन्टर डटकमको लागि लेखी दिएको उनको कविता १० वर्षपछि कक्षा ६ मा अध्ययनरत नेपाली विद्यार्थीहरूले पथ फाइन्डर नामक पुस्तकमा पढ्न पाएकोमा उनी खुसी छन् ।
उनको लेखन यात्रामा एसएलसीलगतै भृकुटी मण्डपमा भएको पुस्तक मेलामा जाँदा आफूले पुस्तक लेख्न मन लागेको इच्छा एक जना प्रकाशकलाई सुनाउँदा उनले १० कुर्नुपर्छ भनेर हतोत्साही बनाएको घटना अविस्मरणीय रहेको बताउँछन् । ‘दैनिक पत्रिकामा लेख छापिरहेको बेला पुस्तक लेख्न मन लागेको मेरो इच्छालाई एक प्रकाशकले तिमीले मधुपर्कमा नियमित लेखहरू छापेर १० वर्ष कुरेपछि मात्र छाप्न पाउँछ भनी निरुत्साहीत गरेको घटनाले नरमाइलो भए पनि पुस्तक लेख्नमा साहस मिल्दै आयो,’ थपलियाले भने, ‘त्यो घटनापछि अमेरिका आएर बन्सन एन्ड नोभलमा अध्ययनको क्रममा देखेको आकर्षक पुस्तकहरूले पुस्तक लेख्ने सपना सजाइदियो ।’
समय परिवर्तनसँगै उनले गरेका नियमित अध्ययन र लेखनसँगै अमेरिकामा बारम्बार अङ्ग्रेजी भाषामा पुस्तक निकाल्न थालेपछि अहिले नेपालको तिनै प्रकाशकहरूले नेपालमा विशेष सुविधाको साथ उनको पुस्तक छापिदिने आग्रह गरेको बताउँछन् । ‘नेपालबाट प्रकाशकहरूले पुस्तक छाप्न गर्दै आएको आग्रह आइरहँदा त्यति बेला कुनै प्रकाशकले मलाई नपत्याएको कुरा झल्झली याद आउँछ’ थपलियाले भने, ‘पुस्तक लेख्ने काम सजिलो होइन तर कसैलाई लेख्न मन लागेको छ भने हामीले लेख्ने वातावरण र हौसला दिनु ठुलो कुरो हो ।’ दर्जनौँ पुस्तकहरू लेखिसकेका लेखक थपलियाले पछिल्लो समय ‘चेन्ज योर फ्युचर’ नामक पुस्तक एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलसँग मिलेर लेखेका छन् ।