शुभप्रभात राई/काठमाडौं
सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले समृद्ध नेपाल निर्माण गर्ने देशभक्ति चिहानमा नसुतेको बताएका छन् ।
शनिवार राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भक्तपुरबाट प्रसारण हुने १०७.९ मेगाहर्जको ‘छोर्वाला काई’ रेडियो कार्यक्रमको पाँचौँ बार्षिकउत्सवमा मन्त्री बास्कोटाले उक्त भनाई राखेका हुन् ।
बास्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने सरकारमा भएको देशभक्ति जीवित नै रहेको जिकिर गर्दै भने, ‘मरेको मान्छेले मात्र ढिला गर्दैन, गल्ती गर्दैन। पछिल्लो समय देशलाई तीन तहमा विभाजन गरी, त्यसमा खटिने कर्मचारी, नियम, कानुन निर्माण गर्दा केही मात्रमा सरकारले देशको कायापलट गर्न नसकेको अवस्था छ।’
‘तर यो हैन कि सरकार असफल छ,’ उनले भने, ‘कतिपय अवस्थामा पाइला टेक्न नपाई, किकले हानेर लाड्याउन खोज्छन्। नेपालमा रेल भित्राउछौं भन्दा, हाँसी मजाकमा उडाइदिन्छन्।’
बास्कोटाले प्रतिपक्षिहरुको हाँसी मजाक गर्ने बाटो समेत तत्कालै हराउने दाबी गर्दै भने, ‘रेलको लागि पचास करोड बजेट छुट्ट्याइ सकिएको छ। अबको ६ महिना पछि नेपालमा रेल भित्राउँदै छौँ।’
नयाँ नेपाल साथै समृद्ध नेपाल निर्माणको लागि नयाँ तरिकाको योजना बनाउन समेत नपाइने गुनासो पोख्दै बास्कोटाले भने, ‘सपनाकै हत्या गरिदिन्छन्। विना सपना, विना लक्ष्य अनि विना योजना कसैले पनि कुनै उपलब्धि हासिल गर्न सक्दैन।’
उनले ‘छोर्वाला काई’ तामाङ भाषाबाट प्रसारित हुने रेडियो सुतेका लाई बिउँझाउने र बिउँझेकालाई हिँडाउने कार्य गर्दै आएको प्रशंसा गर्दै भने, ‘समृद्ध नेपालको अर्को पाटो हो संस्कृति। हाम्रो देश संस्कृतिले धनी छ। हाम्रो संस्कृतिको जगेर्ना गरे मात्रै पनि देशलाई महत्त्वपूर्ण योगदान पुग्छ।’
नेपालमा भाषा, संस्कृतिको संरक्षण गर्ने अन्य माध्यम पनि स्थापना गर्नु पर्नेमा जोड दिँदै भने, ‘नेपालको तामाङको सेलो, राईको साकेला, शेर्पाको नाच हेर्न कुनै पनि युरोपिएन देशहरूमा पाइँदैन।’
कार्यक्रममा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले सम्पूर्ण नेपालीले नै समृद्ध नेपाल चाहने हो भने आफ्नै देशलाई माया अनि सम्मान गर्नु पर्ने बताउँदै भने, ‘हाम्रो देशमा धुलो, धुवाले पुरिएको भन्दै सामाजिक सञ्जाल तिर सरकारको आलोचना गर्दै बस्छौ। तर खाडी मुलुकमा गएर हिलो समेत सोहर्न पछि हट्दैनौ।’
जनता सरकारकै भरमा मात्र नबस्न आग्रह गर्दै तामाङले भने, ‘जुन पनि विकसित राष्ट्रहरूले हिजोको दिनमा आफ्नै क्षमताले, आफ्नै युवा शक्ति परिचालन गरी आज समृद्ध भएको छ।’ उनले थपे, ‘नेपाली कलाकार, युवा व्यवसायि, समाजसेवी एवं पत्रकारहरूले समेत आ-आफ्नो क्षेत्रबाट देशलाई आजैदेखि सृङ्गारन आवश्यक छ।’
नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद तीर्थ लामा तामाङले उक्त रेडियोको माध्यमबाट नेपालभित्र रहेका हेपिएका, थिचिएका, आर्थिक रूपमा विपन्न भएका साथै राज्यको पहुज नपुगेको उत्पीडित व्याक्तिहरुलाई अतुलनीय सहयोग गर्दै आएकोमा बधाई दिँदै भने, ‘यो रेडियोले जीवन्त पाओस् साथै बुलन्द आवाजमा देश भरिकै कुना कुना मा पुगोस्।’
नेकपाको प्रतिनिधिसभाका सांसद गङ्गाबहादुर तामाङले रेडियोले भाषा, संस्कार, संस्कृति साथै उत्पीडित जनताको निमित्त अहोरात्र खटिँदै आएको कार्यले समृद्ध नेपाल निर्माणको बाटोलाई गति दिएको तारिफ गर्दै भने, ‘म रेडियो मात्र नभई यो सम्पूर्ण टिम सेवाग्राहिको रूपमा सम्झन्छु।’
उनले सम्पूर्ण समुदायका तामाङहरू जागरुकता हुने दिन आएको सुझाव दिँदै भने, ‘तामाङ जातको जन्म दखि मृत्युसम्म पहिचान देखाउने तामाङ सङ्ग्रहालय निर्माण गर्नु पर्छ।’
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ साथै प्रथम नपाल आइडल बनेका बुद्ध लामालाई सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सम्मान गरेका थिए।
‘छोर्वाला काई’ रेडियोका संयोजक सुदिन लामा दोङले रेडियोको स्थापना कालमा तिन जना बाट सुरु गरी बिचमा कयौँ दु:खहरुको सामना गर्दै आजको दिन सम्म आइपुग्दा गर्वान्वित महसुस भएको भावना व्यक्त गर्दै भने, ‘श्रोताहरूको माया र साथको कारण नै म यस अवस्था सम्म आइपुगेको हुँ। मेरो काँधमा झनै जिम्मेवार बढेको अनुभव भइरहेको छ, यसलाई म निरन्तरता दिन्छु।’