७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वाइडबडी प्रकरणमा संलग्न मन्त्रीलाई तत्काल निलम्बन गर्न संसदीय उपसमितिका सदस्यको माग


१९ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौं। विवादास्पद दुई वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न गठित संसदीय उपसमितिका सदस्य प्रदीप यादवले दुई वाइडबडी विमान खरिद भएको सक्कली बिल नै नभेटिएको दाबी गरेका छन् ।

बिहीवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको साक्षात्कारमा यादवले विमानको बिल मुसाले खायो कि हावाले उडायो अथवा सरकारले लुकायो ? भनी प्रश्न गरेका थिए । उनले विमान खरिदमा संलग्न  बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल निलम्बन गरी जेल हाल्नुपर्ने मागसमेत गरे ।

वाइडबडी विमान प्रकरणमा छानबिन गर्न गठित संसदिय उपसमितिमा भैरहदा खोज अनुसन्धान गर्न गाह्रो भएको गुनासो उनले भने, ‘धेरैले साथ दिन मानेन । नेपाल वायु सेवा निगमका महाप्रबन्धकले समेत सोधिएको जवाफ एवं हामीले मागेको प्रतिवेदन पनि दिनुभएन ।’

समृद्ध नेपाल निर्माणको देशमा यत्रौ ठुलो नारा चलिरहेको बेलामा करोडौंको भ्रष्टाचार हुदा प्रधानमन्त्री ओलीले भ्रष्ट नेताहरुलाई छानीछानी तत्कालै पदमुक्त गर्नु पर्ने सुझाव दिदै यादवले थपे, ‘नेपाल वायु सेवा निगमका महाप्रबन्धको पदमा सुगतरत्न  कंशकार जस्तो व्यक्ति आवश्यक छैन । सरकारले तत्काल्यै बर्खास्त गर्नु पर्छ ।’

संघीय समाजवादी फोरम नेपालका सांसदसमेत रहेका यादवले मुख्य कम्पनीले दिएको बिल नै नभेटिए पछि सरकारले पनि खासै वास्ता नगरेको आरोप लगाउदै भने, ‘यदि यो दुई वाइडबडी विमानबारे सरकारको चासो राखेको भए, यति बेला सम्म फ्रान्सबाट सक्कली बिल तुरुन्त ल्याउनु पर्ने हो, वास्तै गर्दैन सरकार ।’

उनले विमानको घोटलावारे सरकारी निकायकै माथिल्लो पदमा रहेका भ्रष्ट नेताहरुले सुरुबाटै ठुलो प्रपञ्च रची भ्रष्टाचार गरेको दाबी गर्दै भने, ‘यसमा सुरुदेखि नै ठुलो मास्टर प्लानका साथ वाइडबडी विमानमा सिंगो देशलाई नै डुवाउने खेल भएको छ। कयौं दलालहरुलाई खडा गरिएको छ । ‘

‘छानबिनको क्रममा हामीले विमानसँग सम्बन्धित विज्ञहरुसंग प्रश्न गर्यौ, यो विमान युरोप – अस्ट्रेलियासम्म जान्छ ? उत्तर पायौं, जान्छ । तर, खाली मात्र जान्छ ,’ आक्रोशित हुँदै उनले भने, ‘के यो विमान खाली जान नेपालमा ल्याएको हो ? सरकारको ढुकुटी रित्याउन सुरु देखिनै ठुलो प्रपंच रचिएको छ ।’

उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे,‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’

यदवले वाइडबडी विमानको मुल्यको कुरा उनीहरुकै समितिबाट जानकारी पाएअनुसार ९३ मिलियन अमेरिकी डलरमा नेपालमा वाइडबडी भित्रिन्छ । तर, १०४.८ मिलियनमा खरिद भएको छ । उनले थपे, ‘त्यति मात्रै नभएर, केहि दिनमै बढाएर १०८.२ मिलियनमा खरिद गरेको नक्कलि कागजात बनाएको छ । यि दुईवटै जहाजको खरिद प्रकरणमा ६.८ मिलियन अमेरिकी डलर वरावरको घोटला भएको छ ।’

उनले छानबिन गर्न गठित संसदिय उपसमितिले तयार पारेको प्रतिवेदन भोलि नै मुल समितिमा पेश गरी बैठक बस्ने जानकारी दिदै भने, ‘प्रतिबेदनमा जे जति उल्लेख गरिएको छ, ति सबै सत्य तत्थ्य मात्र उल्लेख गरेका छौं । आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला भएको उल्लेख छ ।’

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ७ : ३८ बजे