१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

माघ १८ र १९ मा खोटाङको जालपामा लाटोकोसेरो महोत्सव हुँदै


२० पुस २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । यस पटकको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने भएको छ ।लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मुल नारासहित प्रकृतिका साथीहरु नामक संस्था र नगरपालिकाको वडा १२ को संयुक्त आयोजनामा उत्सव हुन लागेको हो ।

उत्सव यही  माघ १८ र १९ गते दुई दिनसम्म हुने आयोजकमध्ये प्रकृतिका साथीहरुका राजु आचार्यले जानकारी दिए ।कार्यक्रम आयोजनाका लागि ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ विकास राईको संयोजकत्वमा मूल आयोजक समिति गठन भइसकेको छ । टंक राईको अध्यक्षतामा सल्लाहकार समिती र कार्यक्रमलाई सफल बनाउन थप ११ वटा उपसमीतीहरुसमेत गठन गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा सबै पालीका प्रमुखहरु सदस्य रहनेगरि उत्सव संयोजन समितीसमेत गठन गरिएको छ । उक्त उत्सवको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरु, १ नम्बर प्रदेश सरकार तथा अन्य पालिकाहरु लगायत विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आचार्यले जनाए । उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य समेत राखिएको छ । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ७ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाइन्छ । यसवर्षदेखि भारतको पुनामा पनि मनाउन थालिएको छ ।

तीन जना पुरस्कृत हुने 

उत्सवको अन्तिम दिन तीनजना नेपाली संरक्षणकर्मीलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००÷– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा कास्की पोखराका अनुसन्धानकर्मी तथा सरंक्षणकर्मी श्री राम्जी गौतम, नेपालको सबैभन्दा जेठो चरा सम्बन्धी संस्था नेपाल पक्षी संरक्षण संघ, बर्दियाका पत्रकार यादव आचार्य (अन्नपूर्ण पोष्ट र एपी १) रहेका छन् ।

वन्यजन्तु अनुसन्धान र संरक्षणको काममा योगदान गरेका उत्कृष्ट संस्थाहरु मिथीला वाईल्डलाइफ ट्रष्ट (धनुषा) र हिमालयन नेचर (काठमाण्डौ) लाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गर्न लागिएको छ ।

लाटोकोसेरो तथा हुचिल उत्सव किन ?

गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्दछ । प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचिलहरु मारिने तथा  विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको छ । यसका अतिरिक्त गुलेलीको प्रयोग गरि लाटोकोसेरोलगायत चराहरु मार्ने गरेको भेटिएको छ ।

अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरुले लाटोकोसेरोको बच्चाहरुलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनास समेत तीव्र रूपमा भइरहेको छ । नेपालमा कानुनी रूपमा लाटोकोेसेरोलाई पाल्न, दुःख दिन, बेच्न नपाइने बारे स्थानीयलाई जानकारी कम रहेको भेटिएको छ । साथै यसले कृषि क्षेत्रमा गर्ने महत्वपूर्ण योगदानबारे पनि उनीहरु अनभिज्ञ नै देखिएका छन् । स्थानीय तथा अन्य सरोकारवालाहरुलाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गर्न लागिएको हो ।

जालपा बारे थप जानकारीपूर्वी नेपालको हलेसी मन्दिरबाट केहि घण्टा पर रहेको यो गाँउ समुन्द्र सतहबाट करिब १५०० मिटरको उचाईमा रहेको छ । यो अर्गानिक गाँउ हो । शिक्षामा अग्रणी छ । राई, नेवार, गुरुङ, तमाङ आदिको संस्कृतिमा धनी छ । करिब ४ घण्टा माथि रहेको रुपाकोट (२९०० मि.) बाट पुर्वका हिमालहरु अवलोकन गर्न सकिन्छ । नजिकै कोेरे देविस्थान (३० मिनेट), रावा उपत्यका, झाप पाखा देविस्थान (१ घण्टा), वागेश्वरी महादेवस्थान गुफा (२ घण्टा), महभिर (१ घण्टा) अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रतुवा, दुम्सि, सालक, खरायो, वाँदर, लंगूर, गोहोरो, चितुवा, स्याल, कालिज, मयूर, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हँुचिल, कोईलि, जुरेली सजिलै देख्न सकिन्छ । सामुदायिक अस्पताल, विधालय, उधोग आदिमा उदाहरणिय मानिन्छ ।

जाल्पामा कसरी आउने ?

काठमाडौंबाट (कोटेश्वर) बस तथा सुमो (करिब ८ वटा सुमोहरु) विहानै उपलब्ध छन् । काठमाण्डौ देखि खुर्कोट, घुर्मि, जयराम, हलेसी हुदै जालपासम्म जान सकिन्छ । काठमाडौबाट जालपा जम्मा २६७ कि.मी (काठमाडौंबाट हुर्लुङ २५७ कि. मि. पक्किबाटो, हुर्लुङबाट जालपा १० कि. मि कच्ची बाटो) छ । तर गाँउ पुग्न करिब १० देखि ११ घण्टा लाग्छ । बस भाडा करिब १४०० प्रति व्यक्ति र सुमोमा १८०० प्रति व्यक्ति पर्न जान्छ । रात परेको खण्डमा हुर्लुङमा बास बस्न सकिन्छ वा एक घण्टा परको सदरमुकाम (दिक्तेल) पनि पुग्न पनि सकिन्छ ।

तर सदरमुकामबाट जालपा जानका लागि फेरि हुर्लुङ फर्कनु पर्ने हुन्छ । हुर्लुङबाट ओरालो बाटो हिढेर करिब २ घण्टा जतिमा गाँउ पुग्न सकिन्छ । यदि हुर्लुङ बास बस्ने हो भने काठमाण्डौ वा अन्य ठाँउबाट दिक्तेल जाने कुनै पनि बस प्रयोग गर्न सकिन्छ । खोटाङको सदरमुकाम दिक्तेलबाट दिउसोको ३ बजेतिर जालपाको लागि बस छुट्ने गर्दछ । भाडा रु २५० मात्र । काठमाडौंबाट मोटरसाइकलमा जान चाहनेहरुको लागि उपयुक्त गन्तव्य हो । आप्mनो निजी वाहनमा जानेका लागिे हुर्लुङ देखि जालपासम्मको  १० कि. मि कच्ची बाटो बाधक वन्न सक्छ । ग्राउण्ड क्लीयरीन्स राम्रो भएको गाडिहरु गाँउसम्मै जान्छन् । पुर्वका काकडभित्ता, धरान, विराटनगर, गाईघाट, इटहरी, घुर्मि, भोजपुर आदि स्थानहरुबाट हुर्लुङ हुँदै खोटाङको सदरमुकाम दिक्तेल सम्म नियमित गाडिहरु सन्चालित छन् ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ९ : ४७ बजे