एभरेस्ट टाइम्स/काठमाडौं
मोडल जाङ्मु इन शेर्पा २०१९ मा सगरमाथा आरोहण गर्ने तयारीमा थिइन् । यसका लागि उनी सगरमाथा आधार शिविर पनि पुगिन् ।
‘हाइ अल्टिच्युड टेस्ट’का लागि शिविर पुगेको केही महिनामै मिस मंगोलमा भिडिन् । मिस मंगोल–२०१८ को विजेता बनिन् उनी ।
मिस मंगोलको ताज जितेसँगै लक्ष्यको बाटो मोडियो । त्यसपछि सगरमाथा आरोहणको कार्यक्रम थाँती राखे र असहाय बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम योजना अघि सारिन् ।
‘बेस क्याम्पसम्म पुगें । २०१८ अप्रिलतिर गएको थिएँ । २०१९ को प्लान एभरेस्ट चढ्नु थियो । बीचमा मिस मंगोलमा पार्टिसिपेट भएँ,’ आफ्नो योजनाबारे उनले थपिन्, ‘ताज पनि जिते मिस मंगोलको ताजले एभरेस्ट चढ्ने योजना यु टर्न गरिदियो ।’
संखुवासभा मकालुकी जाङ्मु मोडलिङ हुँदै सौन्दर्य क्षेत्रमा प्रवेश गरेकी हुन् । विभिन्न कार्यक्रममा एमसीको भूमिकामा पनि देखिन्छन् । शेर्पा र नेपाली गीतमा मोडलिङमा व्यस्त उनले पछिल्लोपटक असहाय बालबालिकाका लागि आफ्नो समय खर्चने सपना बुनेकी हुन् । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा पनि असहाय बालबालिकाका लागि समय खर्चनु अझ राम्रो हुनेमा विश्वस्त छिन् उनी ।
‘विनर भएपछि समाजमा के योगदान दिने त ? मलाई इजुकेसनमा फोकस गर्न मन लाग्यो । त्यसैले म यो क्षेत्रमा लागेको । यसमा फस्ट रनर अफ र सेकेन्ड रनर अपको पनि साथ छ,’ जाङ्मुले भनिन् ।
सगरमाथा चढ्दा सफल भए आफू एक जना सफल हुने र शिक्षामा समय खर्चेमा धेरै बालबालिका लाभन्वित हुने उनको बुझाई रहेको छ । भन्छिन्, ‘एभरेस्ट चढे पर्सनल मेरो लागि मात्र हुने भयो । तर एभरेस्ट चढेजस्तै दुःख यता गरे अरु धेरैले इजुकेसन पाउने भयो । यसैले यही काम गर्छु भनेर लागेको छु ।’
उसो त जाङ्मुले सगरमाथा चढ्ने सपना झट्टै त्यागिहालेकी छैनन् । सगरमाथाको चुचुरोमा पुग्न धेरै समयहरु बाँकी रहेको उनको तर्क छ ।
असहायलाई कसरी पढाउने त ?
‘स्कलरसिप फन्ड घोषणा भइसक्यो । डिसेम्बरमा यो घोषणा भइसक्यो । यसबाट आउने ब्याजले नै बालबालिकालाई पढाउने तयारी भइरहेको छ,’ जाङ्मुले सुनाईन् ।
५० लाख स्कलरसिप फन्डका लागि मार्च ६ मा होटल र्याडिसनमा च्यारिटी डिनर आयोजनाको कार्यक्रम बनाएकी छिन् । यस वर्षबाटै बालबालिकालाई लिने योजनामा तयारी छ जाङ्मुको ।
एसइइसम्म पढाउने जिम्मा जाङ्मुको स्कलरसिप फन्डले गर्नेछ । यस कार्यक्रमलाई साथ दिन धेरै सकारात्मक देखिएकोमा खुसी र उत्साहित छिन् उनी । भनिन्, ‘केही समयअघि कोरिया पुगे, त्यहाँ पनि धेरैले सपोर्ट गर्ने वचन दिनुभएको छ ।’
छात्रवृत्तिमा सहयोग गर्नेको विवरण वेबसाइटमा राख्ने उनले बताइन् । ‘सहयोग गर्नेको सबैको विवरण र डोनरको बायोडाटा वेबसाइटमा राख्नेछौ, वेबसाइट बन्दै छ,’ जाङ्मुले भनिन् ।
आफ्नो ड्रिम प्रोजेक्ट पुरा हुन लागेकोमा खुसी छिन् जाङ्मु । भन्छिन्, ‘सानैदेखि इजुकेसन क्षेत्रमा केही गर्ने मन थियो । मिस मंगोलले यसको ढोका खोलिदियो । यो मेरो लागि ड्रिम प्रोजेक्ट हो ।’