ङिमा पाख्रिन/न्युयोर्क
युनाइटेड नेप्लिज एसोसिएसन (युना)को चौथो कन्भेन्सन मे २५ र २६ दुई दिन न्युयोर्कमा हुने भएको छ । गत आइतबार संस्थाले पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएको हो ।
अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकन युवाहरूको सशक्तीकरणका लागि स्थापना भएको संस्थाले आयोजना गर्न लागेको यस कन्भेन्सनमा युवा लक्षित कार्यक्रमहरू राखिने युनाका संस्थापक एवं वर्तमान अध्यक्ष पासाङ लामाले जानकारी दिए ।
अमेरिकामा धेरै संस्थाहरू रहेकोमा युवाहरूको सशक्तीकरण र हितमा काम गर्ने उद्देश्यका साथ काम गर्ने संस्था युना भएको उल्लेख गर्दै उनले भने, ‘ युना युवा केन्द्रित विषयमा काम गर्ने संस्था हो । युवालाई हामीले कसरी केयर र सपोर्ट गर्न सक्छौ भन्ने हाम्रो ध्येय हो ।’
चौथो सम्मेलनमा बालबालिकादेखि युवाहरूको बाक्लो सहभागिता रहने उनले बताए ।
कन्भेन्सनमा स्पेलिङ कन्टेस्ट, युथ फोरम, सेमिनारदेखि खेलकुदसम्मका कार्यक्रम तालिका रहेको लामाले बताए । नेपाली समुदायको उपस्थिति न्युयोर्कमा बाक्लो रहेकोले चौथो कन्भेन्सनको लागि न्युयोर्कलाई रोजिएको समेत उनले बताए । कन्भेन्सनमा किशोर उमेरका युवाहरू लक्षित भएको उनले उल्लेख गरे ।
चौथो कन्भेन्सनमा गैर आवासिय नेपाली सङ्घ (एनआरएनए)का विशिष्ट व्यक्तिहरुसमेत उपस्थित हुने युना चौथो कन्भेन्सनका कन्भेनर सोनाम लामाले बताए । एनआरएनका अध्यक्ष भवन भट्ट र निवर्तमान अध्यक्ष शेष घले लगायत उपस्थिति रहने लामाले खुलाए । एनआरएनए आईसीसी निवर्तमान क्षेत्रीय संयोजक लामाले भने, ‘युनाको चौथो कन्भेन्सन युथलाई कसरी अगाडि बढाउने भन्ने तर्फ उन्मुख छ । एनआरएनए र युनामा फरक छ । एनआरएनए ग्लोबल नेटवर्क हो । युना अमेरिकामा युवाहरुका लागि काम गर्ने संस्था हो । युवालाई अगाडि बढाउने कुरामा हामीले ठोस काम गर्न जरुरी भएकोले युनाको स्थापना गरिएको हो ।’
सम्मेलनमा युवा लक्षित मार्सल आर्टसमेत प्रदर्शन हुनेछ । मार्सल आर्टका प्रशिक्षक शान्त थोकरले यसबारे जानकारी दिँदै सकेसम्म युना चौथो कन्भेन्सन टाइटल हुने र नभएमा डेमोन्स्ट्रेसन मात्र भए पनि हुने बताए ।
सम्मेलनमा नेपालबाट मिस नेपाल शृंखला खतिवडा, नृताङ्गना टेरिया मगर र गायक अशोक दर्जीलाई निम्ता पठाएको युना चौथो कन्भेन्सनमा कलाकार संयोजनको जिम्मेवारी सम्हालेका नेपाली अमेरिकन कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरले जानकारी दिए ।
अमेरिकामा हुने कतिपय कार्यक्रममा युवाहरू सहभागी हुन नपाएको उल्लेख गर्दै युना चौथो कन्भेन्सनका को-कन्भेनर छेपक लामाले चौथो कन्भेन्सन युवा अनुकूल हुने बताए । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई सहभागी गराउन अनुरोध गर्दै हिमालयन बुध्दिस्ट सोसाइटीका अध्यक्षसमेत रहेका लामाले भने, ‘नेपालबाट नेताहरू आउने भाषण गर्ने कार्यक्रम मात्र भए । युनाबाट चाहिँ युथलाई फोकस हुन्छ । चौथो कन्भेन्सनमा आफ्नो छोराछोरीलाई ल्याउँनुस र सहभागी गराउँनुस ।’
उक्त कार्यकम आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले सञ्चालन गरेका थिए । कार्यक्रममा युना
बोर्ड अफ डाइरेक्टर भरतराज लामा, न्युयोर्कस्थित अन्य केही सङ्घसंस्थाका अगुवाहरू लगायत केही सञ्चारकर्मीको उपस्थिति रहेका थिए ।