काठमाडौं : पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते ललितपुरकाे मेडिसिटीमा भर्ना गरिएको थियो । त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे ।
फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पताल प्रशासनले दिएको छ । शनिबार दिउँसो मात्रै डा. हेमराज पनेरु र अस्पतालका मेडिकल डिरेक्टर डा. भास्करराज पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको जनाएको थियो ।
वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए । उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।
कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्।
२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारी नेतृत्वमा बनेको एकल सरकारमा अधिकारी अर्थमन्त्री भए । नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका थिए । यो बजेमा अधिकारीले अगाडि सारेका आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका नाराले लोकप्रियता पाएका थिए ।