११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

नेपालको मानव अधिकारबारे अमेरिकी रिपोर्टः भक्तपुर इन्काउन्टर नाटकीय, फ्रि मधेश अभियानका यादवको मृत्यु यातनाका कारण


१ चैत्र २०७५, शुक्रबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

अमेरिकी विदेशमन्त्रालयले मार्च १३ मा विश्वव्यापी माधवअधिकारबारेको रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा नेपालको वर्तमान स्थिति पनि समेटिएको छ । ३५ पृष्ठ लामो रिपोर्टमा भक्तपुरमा भएको इन्काउन्टर देखि निर्मला पन्तको हत्याकाण्ड र बालकृष्ण ढुंगेललाई दिइएको आममाफीसम्मको चर्चा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले जारी गरेको उक्त रिपोर्टमा नेपालमा भएका गैरन्यायिक हत्या, यातना, अमानवीय कार्य, आपराधिक मानहानी, भष्ट्राचार, मानव तस्करी, बालविवाह, बलात्कार, बालश्रम लगायतका विषयहरू समेटिएको छ । सरकारले विभिन्न विषयमा जाँचबुझ गरे पनि दोषी अधिकारीहरूलाई जवाफदेही नठानेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा गत अगस्त ५ मा भक्तपुरमा बालक अपहरणको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएको घटनालाई सुरुमै उल्लेख गरिएको छ । भक्तपुरमा सिन्धुपाल्चोकका ११ वर्षे बालकको अपहरणपछि हत्या गरिएको थियो । उक्त घटनमा संलग्न रहेको भन्दै दुई जना मजदुर प्रहरी इन्काउन्टरमा मारिएका थिए । अजय तामाङ र गोपाल तामाङलाई पहिले नै प्रहरी हिरासतमा राखी पछि इन्काउन्टर गरिएको विषय यस रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘इन्काउन्टर भएको स्थान जंगली क्षेत्र रहेको र प्रहरीले आफूमाथि फायर खोलेपछि जवाफी फायरमा मारिएको बताइरहँदा स्थानीय सञ्चार माध्यम तथा अधिकारवादीहरुले उनीहरु पहिलेदेखि नै प्रहरी नियन्त्रणमा रहेको बताएका छन्। यसले यो प्रहरीको नाटकीय इन्काउन्टर हो ।’

त्यस्तै निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको र २४ जना घाइते भएको विषयलाई पनि रिपोर्टमा प्राथमिकताकासाथ उल्लेख गरिएको छ । भदौ ८ मा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सनी खुनाको मृत्यु भएको थियो ।

गत सेप्टेम्बर १ मा स्वतन्त्र मधेस आन्दोलनका राम मनोहर यादवको प्रहरी हिरासतमा उपचारका क्रममा मृत्यु भएको घटना र मार्च २०१७ मा सशस्त्र प्रहरीको गोली लागेर सप्तरीमा ५ जनाको मृत्यु भएको सन्दर्भमा अहिलेसम्म दोषीमाथि कुनै अभियोग दर्ज नगरिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । फ्रि मधेशको आन्दोलनमा लागेका यादवलाई प्रहरीले हिरासतमा अमानवीय ढंगले यातना दिएकाले मृत्यु भएको जनाएको छ । हालै सीके राउतसँग सरकारले यादवको परिवारलाई सरकारले क्षतिपूर्ति दिने सहमति गरेको छ ।

त्यस्तै उज्जन कुमार श्रेष्ठको हत्यामा दोषी तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई गत मे महिनामा राष्ट्रपतिले आममाफी दिएको सन्दर्भ पनि रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा गैर न्यायायिक हत्या, बेपत्ता, यातनाका फेहरिस्तहरू प्रस्तुत गर्नुका साथै जेलहरूको अवस्थाबारे पनि उल्लेख गरिएको छ ।
जातीय विभेद तराई क्षेत्र र ग्रामीण क्षेत्रमा व्यापक रहेको रिपोर्टमा उल्लेख गरिएको छ । बोक्सी लगायतका नेपालका कुप्रथाहरूबारे पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकी सरकारले सार्वजनिक गरेको यो रिपोर्ट मानवअधिकारको बारेको अवस्थाका सन्दर्भमा आधिकारिक रिपोर्ट हो । एसाइलम लगायतका विषयहरूमा निर्णय गर्दा अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले समेत यो रिपोर्टलाई श्रोतको रूपमा लिने गर्छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : ३० बजे