खेन्पो कमल भण्डारी
खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो । खादालाइ शुभ संकेतको रूपमा लिइन्छ । यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबै स्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो ।
खादाको प्रयोग कहा र कसरी शुरुवात भयो ?
खादा जसरी हाम्रो देशमा तराइ पहाड हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दुखद आत्मालाइ शान्ती मिल्नको लागी खाता चडाइएको हो । ७ औं शताब्दीदेखी क्रमशः विकास र विस्तार हुदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन् ।
खादाको धार्मिक अर्थ
खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यतय सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएका देख्न सकिन्छ । सम्भोटा लिपीमा ‘ टाशी देलेक फुन्सुम छ्योकु लेखिएको हुन्छ, जसको अर्थ सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस’ भन्ने हो । त्यस संगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् । सम्भोटा लिपीमा ‘ ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ ‘ जसको अर्थ दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस ’ भन्ने हो । त्यस्तै ‘ ङिन्छेन् ताक्तुु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग’ जसको अर्थ दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस ’ भन्ने हो ।
खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।
१. धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा यसको अर्थ शुभ सायिदको प्रतीक हो ।
३. भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शंख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८. धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेको छ ।
१. निलो को अर्थ आकाश
२. पहेलोको अर्थ जमीनरमाटो
३. रातोको अर्थ अग्नी
४. सेतोको अर्थ बादल
५. हरियो को अर्थ जङ्गल हो भन्ने बुभिन्छ ।
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको संकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र संकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविस्कार मानिन्छ । तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने प्रयोग नगर्ने कार्यहरु भइरहेका छन् । वास्तविक अरुको दााजोमा खादा सस्तो र कुशल कर्मको लाभ दायिक भएकोले धेरै भन्दा धेरै प्रयोग गर्नु जरूरी देखिन्छ । साथै यस कार्यमा सबै साथ दिएर अगाडि बढ्नुपर्ने हुन्छ ।
लेखक – नेपाल बौद्ध महासंघका महासचिव हुन ।