शान्ति बस्नेत-
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको देश भनेर नेपाललाई संसारले चिन्छ । यतिमात्र नभई नेपाल विभिन्न बहुजाति, धर्म, संस्कृतिको साथै विभिन्न फूलहरुको सुन्दर फूलबारी पनि हो । तराई, पहाड र हिमाल गरी ३ भागमा फैलिएको नेपाल सुन्दर, शान्त र साझा उदगम स्थानका नामले परिचित छ ।

नेपालको प्राकृतिक भू–बनोट पनि अत्यन्तै लोभलाग्दो अभूतपूर्ण रहेको छ । ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तुको तिलौराकोट राज्य लुम्बिनीमा शाक्यवंशी राजाका छोराको रूपमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भयो । नेपालमा गौतम बुद्धको जन्म हुनु कुनै सामान्य कुरा होइन, किन कि उनका भनाइहरू विश्वमै दुर्लभ छन् ।
बुद्धको विचारलाई नेपाली सबैले आत्मसात् गरी सकारात्मक रूपमा लिएको भए आज देश भरी हिंसात्मक जघन्य अपराधहरू हुने थिएनन् । गौतम बुद्धका ५ ओटा नैतिक नियमहरू छन् । हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचारी नगर्नु, झुटो नबोल्नु र जाँड–रक्सी नखानु भन्ने अत्यन्तै मर्मस्पर्शी पञ्चशीलका नियम हुन । ती ५ ओटा नियमलाई सबैले व्यवहारिक रूपमा कार्यान्वयन गर्ने हो, भने हाम्रो देशमा कहिल्यै अशान्ति हुँदैन ।
प्राकृतिक रूपमा एकदमै सुन्दर देश नेपाललाई मानव जातिले दिनप्रतिदिन कुरूप बनाउँदै गएका छन् । शान्तिको देशमा विभिन्न खालका आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । संविधानका पानाहरू भरिभराउ गरी सजाउनलाई मात्रै नियम कानुन बनाइएको महसुस हुने गरेको छ । कानुन साना, जसको आर्थिक र राजनीतिक पक्ष कमजोर छ, त्यसलाई मात्रै लागोस् भएको छ । अमानवीय र असमानता कै लागि हाम्रो देशमा कैयौँ नेपाली जनताले रगत बगाएका छन् । २४० वर्षको शाही शासनको अन्त्य भई नेपालमा गणतन्त्र स्थापना भए पनि देशमा शासन फेरियो, शासक फेरिएन । जनताका आधारभूत आवश्यकता अनुसार शासन चलाउन सकेनन् । विभिन्न समस्याहरूसँग लड्दै हाम्रो देशमा लोकतन्त्रको स्थापना भयो ।
२०६२÷६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा वैशाख ११ गते लोकतन्त्र स्थापना भयो । ०६२÷६३ को जनआन्दोलन देखि बग्न थालेका शहीद परिवारका सदस्यलाई अझै पनि आशुँका ढिक्काहरू बग्न रोकिएका छैनन् । नेपालीहरूले बगाएका रगतको सम्मान अझै भएको छैन । हत्या, हिंसा र बलात्कार जस्ता समाजका निम्ति घातक अपराधहरू मौलाउँदै गएको छ । देशमा कानुन छ कार्यान्वयन छैन ।
सरकार पक्ष ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने भनाई लाई दुई तिहाइको आडमा दम्भका साथ घटनाहरूको दर्शक बनेर बसेको छ । अनेकौँ भाषणमा आशाका दियो झलमल्ल बनाएर बस्छ तर सरकार उत्ताउलो किसिमको व्यवहारमा ठिक्क र जनताहरू पनि सरकारकै मुख हेरेर समाजका घटनाहरूलाई निर्मूल बनाउन केही पनि पहल गरिएको छैन । श्रावण महिनामा कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डलाई सरकार र सरोकारवालाले के हेरेर बसेका छन् ?
बुद्धको देशमा यस्तो अपच्य घृणित कार्य किन मौलाउँदै गएको छ ? छिटो भन्दा छिटो यस्ता कार्यलाई निर्मूल पार्ने कार्यमा हामी एकजुट हुनु पर्छ । लोकतन्त्रको नागरिकले अनुभूति गर्नु त कता हो कता ! यति बेला सबैले चर्को महँगी र कालोबजारी भोग्न बाध्य भएका छन् । पहिला राजा हुँदा नेपाल जुन स्थितिमा थियो ? आज प्रधानमन्त्री र राष्ट्रपति हुँदा पनि नेपालमा त्यही स्थिति छ । भिन्नता यति मात्र हो, पहिलेका राजा बन्ने वंशाणुगत परम्परा हटेको छ, भने अहिले नेता ज्यूँहरु राजनीतिक भागबण्डाको आधारमा पालै–पालो पद आसीन हुन पुगेका छन् । विडम्बना भनौँ वा बाध्यता नेपाली जनताको जीवन शैलीमा खासै परिवर्तन आएको छैन ।
देशमा शान्ति हराउँदै गएको आभास हुन थालेको छ । पहिला द्वन्द्वकालको जस्तो चन्दा, आतङ्क जस्ता त्रास देखाउने किसिमका क्रियाकलापमा एक समूह लागि परेको हामी सबैले थाहा नै छ । उक्त कार्यमा संलग्न भएका मानिसहरूलाई सरकार पक्षले चाँडो भन्दा चाँडो नियन्त्रणमा लिई आवश्यक शान्ति सुरक्षाको सु–व्यवसाय गरी जनतालाई सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्छ । अव शान्तिको नाममा कसैले पनि रगत बगाउनु नपरोस । लोकले पत्याएको र लोकले रुचाएको शासन व्यवस्थाको रूपमा लोकतन्त्रलाई आत्मासाथ गरी सुन्दर शान्त नेपाल र समृद्धिको नारालाई सार्थक बनाउन लाग्नु पर्दछ ।