३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

ताम्रकार समाजको १७ औं साधारणसभा: समाजको आफ्नै एप, विद्यार्थीदेखि जेष्ठ नागरिकसम्म सम्मानित


२५ चैत्र २०७५, सोमबार  

2
Shares

ललितपुर । नेवार समुदाय आफ्नो परम्परा, रितिथिति, चाडपर्व, पेशागत विविधताका कारण सम्पन्न देखिएतापनि आर्थिकस्तर, चेतनास्तर अभिबृद्धिगर्ने सवालमा पछाडी नै रहेको वक्ताहरुले औल्याएका छन् । ताम्रकार समाजको सत्रौं साधारणसभा तथा तेइसौं सामूहिक भेलाको अवसरमा वक्ताहरुले भिन्न राजनैतिक सिद्धान्तलाई अंगीकार गरेतापनि नेवारहरु एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।

जावलाखेलस्थित ताम्रकार समाजको भवनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले राजनैतिक चेतनाको कमीले गर्दा नेवार समुदाय अगाडी बढन नसकेको बताए । उनले अबपनि लाचार, कमजोर हुने हो भने कहिल्यै माथि उठ्न नसकिने उल्लेख गरे । उनले मुलुकको कला, संस्कृति, सम्पदाको उत्थानमा ताम्रकार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ताम्रकार वर्गको सीप, कला, कौशलको जगेर्ना गर्न सके समग्र मुलुकले फाइदा लिनसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले नेवार समूदायको मौलिक संस्कृति, रहनसहन, भाषाशैलीमा भइरहेको अतिक्रमण चिन्ताजनक भएको बताउँदै त्यसमा अरुलाई दोष दिएर मात्र उम्कन नसकिने बताए । उनले पूर्खाहरुले आफ्नो रगत, पसिना बगाएर ठडयाइएका ऐतिहासिक कला, सम्पदा, धरोहरको रक्षा तथा नेवारहरुको हक, अधिकारको लागि नेवाः देय् दबूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा ७७ वर्ष ७ महिना पार गरेका भिमरथारोहन सम्पन्न एक्काइस जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै गत शैक्षिक सत्रमा समाजका एसइइदेखि पिएचडी तहसम्म उत्तीर्ण नब्बे जवान विद्यार्थीहरुलाई शैक्षिक सम्मान पनि गरिएको थियो । त्यस्तै समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने दाताहरुलाई प्रमुख अतिथिले सम्मान गरेका थिए । ताम्रकार समाजबाट प्रत्येकवर्ष प्रदानगर्दै आइरहेको उग्रचण्डी सम्मान सिरपा (पुरस्कार) यस वर्ष शारिरीक सुगठन खेलको माध्यमबाट ताम्रकार वर्गको नाम उच्चराख्न सफल सागर ताम्रकारलाई नगद पुरस्कार रु दश हजारका साथ सम्मानपत्र प्रदान गरियो ।

सो अवसरमा ताम्रकार समाजको आफ्नै मोबाइल एप्लिकेसनको पनि शुरुवात गरिएको थियो । सो समारोहमा समाजका उपाध्यक्ष विनोद ताम्रकार, सम्मानित व्यक्तित्व सागर ताम्रकार लगायतले धारणा राखे । सोहीदिन भएको बन्दसत्रमा महासचिव शम्भुगोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपेश ताम्रकारले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ८ : २८ बजे