चितवनको सुर्य नगरमा जन्मेका सूर्य लम्साल न्युर्योकमा सिभिल इन्जिनियर हुन । उनी चितवनको शिवनगरस्थित हाइस्कुल सकेर काठमाडौको अमृत साइन्स क्याम्पसबाट विएस्सी र पुल्चोक क्याम्पसमा ४ बर्षको छात्राबृतिमा इन्जिनियरिङ पुरा गरेका थिए । केही समय नेपालमा आफनै दाईसंगै इन्जिनियरिङ काम गदै आएका उनी सन १९९६ मा अमेरिका पढनका लागी आएका थिए । अमेरिका आएको वितिकै फलोरिडाको इनष्टिच्युड अफ फलोरिडामा अध्ययन गरेका थिए । त्यसपछि न्युयोर्कको सिटि कलेजबाट मास्र्टड गरि सिभिल इन्जिनियरको रुपमा कार्य गरिरहेका छन । शुरुमा स्टेडियम र न्युयोर्क अग्लो भवनको डिजाइन गदै आएको उनी अहिले हाइड्रोपवरमा कार्य गरिरहेका छन । एनआरएन अमेरिकाको पुर्व बोर्ड अफ डाइरेक्टर उनी सस्थागत रुपमा चितवन समाजका पुर्व अध्यक्ष हुन । गैरआवासीय नेपाली संघ(एनआरएनए), अमेरिकाको आगामी नेतृत्वको सूर्य लम्सालले पनि उम्मेदवारी दिएका छन् । लम्सालले गत अप्रिलको पहिलो हप्ता न्युयोर्कमा उमेद्वारी घोषणा गरे। न्युयोर्क निवासी उनी मतदाता आकर्षित गर्न मतदातामाझ पुग्दैछन् । उनै लम्सालसँग चुनावी एजेन्डाबारे एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी:
एनआरएनएमा कहिलेबाट लाग्नु भयो ?
अमेरिकामा आउनसाथ एनआरएनएको बारेमा समाचार सुनेर थाहा पाएको थिएँ । सन् २०१३ बाट कार्यसमितिमै बसेर केही गर्छु भन्ने सोच लिएर चुनावै लडें । शुरुमा उपाध्यक्षमा लडे, तर परिणाम राम्रो भएन । त्यसपछि बोर्ड अफ डाइरेक्टरमा उठें, जितियो । त्यसपछि दोस्रो कार्यकाल महासचिव भएर पुन काम गर्ने सोच बनाएको थिए तर राजनीतिक सहमति नमिलेकोले मौका पाएन । तर निर्वाचनमा हारेपनि म कहिल्यै पनि संस्थाबाट टाढा भइनँ । सधैं एनआरएनकै लागि लागीरहे ।
अध्यक्षमा उठ्छु भनेर कहिलेदेखि योजना बनाउनु भएको थियो ?
गत निर्वाचनमा महासचिवमा उमेद्वारी दिँदा खेरि नै अध्यक्षमा उठ्छु भन्ने सोच बनाएको थियो । तर त्यतिखेर डा केशव पौडेललाई अप्ठ्यारो हुन्छ भनेर मैले महासचिवमै उमेद्वारी दिएको हो । मेरो योग्यताअनुसारको जागिर र एनआरएनएको उद्देश्य उद्देश्य उस्तै भएकोले मैले नेतृत्वमा गएर केही गर्न सक्छु भनेर अध्यक्षको उमेद्वार बनेको हुँ ।
अध्यक्षमा अरु पनि उमेद्वार छन्, तपाईं आफूलाई कसरी पृथक देखाउँनुहुन्छ ?
हामी तीनैजना इन्जिनियरिङ पेशाबाट आएका छौ । उहाँहरु भन्दा म अगाडिदेखि नै यही पढेर काम गर्दै आएको छु । अमेरिकन सिस्टममा पेशामा पनि म बढी इन्गेज भइरहेको छु । मैले अमेरिकामा सिकेको ज्ञान र सीप सदुपयोग गर्ने ठाउ खोजिरहेको बेला एनआरएनए मेरो लागि उत्तम थलो ठानेको छु । त्यही भएर नेतृत्वमा म सही छु भन्ने लाग्छ ।
कस्तो तयारी गर्नु भएको छ ?
अध्यक्ष हुन्छु भनेर नै मैले यो वर्ष म सदस्यता बनाउने अभियानमा लागें । सदस्यता बनाउने अभियान लगतै किन मलाई भोट हाल्ने भन्ने विचारप्रति आकर्षित गर्ने काममा लागियो । नेतृत्वकै लागि नेपालीहरु पुगेको ठाउँमा पुगिरहेको छु । अझै पनि निर्वाचन भरी नै पुग्ने योजनामा छ ।
अबको एनआरएनए कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
अहिलेसम्मको एनआरएनएमा खासै आर्कषण भएन । अरु संस्थाहरुमा लागिरहेको व्यक्तिलाई एनआरएनएमा लाग्ने रुचि भएको छैन । यसको लागि सामाजिक, लबिङ र लगानीको अवसर दिएमा सबै स्वतस्फुर्त सदस्य बन्नेछन् भन्ने योजनामा लागेको छु । सबैसँग पैसा छ, सबै सदस्यहरुको एकको दुई हुनेगरी कमाउने योजना छ । म यही विषयलाई प्राथमिकतामा राख्छु र लगानी गर्ने ठाउँ बनाउने काममा कटिबद्ध भएर लाग्नेछु ।
तपाईले एनआरएनमा के के योगदान दिनु भयो ?
एनआरएनएमा नलाग्दै म यसमा एट्याच रहेछु । कार्यसमितिमै बसेर अमेरिकामा नेपाली कति छन् भनेर तथ्याङक संकलनका लागि म संयोजक बनेर काम गरें । त्यस्तै नेपालसँग दोहोरो कर प्रणाली के हो कसरी हटाउने भन्ने मिटिङमा छलफल गर्ने कार्य गरियो । यसमा पनि सम्बन्धित क्षेत्रसम्म पुग्ने गरी छलफल भयो ।
अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?
आगामी निर्वाचनमा म मोर्चाको अगाडि छु । अबको निर्वाचनमा सही उमेद्वार को हो भन्ने कुरा तपाईहरु आफै बुझ्नुस् अनि चिन्नुस् । म एनआरएनएको उद्देश्यसँग काम गर्न सक्ने क्षमता भएको मान्छे भएकोले तपाइहरुले सबै मिलेर साथ दिनुस् ।