वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले आफ्नो पदबाट राजीनामा दिने भएकी छिन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत उक्त उनको राजीनामाबारे जानकारी दिएका हुन् । ट्रम्पको ट्वीटमा भनिएको छ, ‘साढे तीन वर्षपछि यो महिनाको अन्त्यतिर साराले ह्वाइट हाउसबाट बिदा लिएर आफ्नो अर्कनासस्थित घरमा फर्कदैछिन् । उनी असाधारण क्षमता भएकी विशेष व्यक्ति हुन् । जसले अविश्वसनीय काम गरेकी छन् । मलाई आशा छ उनले अर्कनासको गभर्नरका लागि उम्मेदवारी दिनेछिन् । पक्कै पनि यो रोचक हुनेछ । धन्यवाद सारा अहिलेसम्मको उत्कृष्ट कामका लागि ।’
After 3 1/2 years, our wonderful Sarah Huckabee Sanders will be leaving the White House at the end of the month and going home to the Great State of Arkansas….
— Donald J. Trump (@realDonaldTrump) June 13, 2019
त्यसो त ट्रम्पले सारालाई एक लडाकुका रुपमासमेत चित्रण गरेका छन् । प्रशंसा गर्दै उनले भनेका छन्, ‘हामी धेरै समय सँगै रह्यौ । उनी कठोर छिन् । तर अति सरल पनि । यदि अर्कनासको गभर्नर पदमा उनले उम्मेदवारी दिइन् भने पक्कै पनि उनले धेरै राम्रो गर्नेछिन् ।’
….She is a very special person with extraordinary talents, who has done an incredible job! I hope she decides to run for Governor of Arkansas – she would be fantastic. Sarah, thank you for a job well done!
— Donald J. Trump (@realDonaldTrump) June 13, 2019
स्यान्डर्सले पनि राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै आफूले ह्वाइट हाउस छाड्न लागेको पुष्टि गरेकी छिन् ।
भनेकी छिन्, ‘यो त जीवनभरकै सम्मान हो। जीवनभरको अवसर पनि । विषेशगरी राष्ट्रपतिसँग काम गर्न पाएँ । जीवनभरका लागि यो सम्पत्तिका रूपमा रहनेछ । पलपल मीठा थिए केही पलहरू नमीठा पनि ।’
बिहिबारमात्र साराले आफ्ना कार्यालयका कर्मचारीहरूसँग आफ्नो बिदाइबारे जानकारी दिएको एबिसिन्युजले जनाएको छ । अमेरिकी उच्चस्तरीय भ्रमणहरूमा सारा राष्ट्रपति ट्रम्पसँगै पुग्थिन् । उत्तर कोरियाली नेता किम जोङ उन र बेलायती राजकुमार चार्ल्ससँगको भेटमासमेत उनको उपस्थिति ट्रम्पसँग हुन्थ्यो ।
सारा अर्कनासका पूर्व गभर्नरका छोरी हुन् । उनका पिता माइक हकाबी दुई पटक राष्ट्रपतिका उम्मेदवारसमेत बनेका थिए । सिन स्पाइसरले राजीनामा दिएको केही घण्टामै सारालाई २०१७ जुलाईमा ह्वाइट हाउसले उक्त पदमा नियुक्ति दिएको थियो ।