१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बुद्ध जन्मभूमि नेपालमा बुद्धको मूर्तिहरु तोडफोड गरेर नेपाललाई लज्जित बनाएको छ


Ang

८ श्रावण २०७६, बुधबार  

0
Shares


आङ दावा शेर्पा
विश्व शान्तिका नायक एसियाका ज्योति शाक्यमुनि गौतम बुद्धको पवित्र जन्मस्थल भएको नेपालमा बुद्धका मूर्तिहरु तोडफोड भएको समाचारले विश्वभरका बौद्धमार्गीहरु एवं शान्तिप्रीय मानिसहरुको आत्मामा गहिरो चोट पुर्‍याउनुका साथै सबैलाई स्तब्ध र निराश बनाएको छ । २०७६ साल साउन २ गते भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाच वटा बुद्धका मूतिहरु तोडफोड गरेर यत्रतत्र फयाकेको थियो । नेपाल भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले स्थापना गरेका २० वटा मूर्तिहरुमध्ये पाचवटा बुद्धका मूर्तिहरु तोडफोड गरी फालिएका अवस्थामा रहेका छन् ।

आजको करिब २६०० वर्ष पहिले नेपालको रुपेन्देही जिल्लाको लुम्बिनीमा जन्म भएको सिद्धार्थ गौतम बुद्धले मानव जीवनलाई दुःख र कष्टबाट मुक्त हुनको निमित्त बुद्धत्व प्राप्त गरेपछि मानव जीवनको कल्याण र विश्व शान्तिको निम्ति दिनुभएको उपदेश र शिक्षा विश्वको विभिन्न देशहरुमा फैलिएर विश्वभरका बौद्धमार्गीहरु एवं शान्तिपि्रय मानिसहरुले अत्यन्तै श्रद्धा र भक्तिपूर्व आदर र सम्मान गर्दै आएको अवस्थामा बुद्ध जन्मस्थल नेपालमा बुद्धका मूर्तिहरु तोडफोड गरेर नेपाल र नेपालीलाई लज्जित बनाएको छ । शाक्यमुनि गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर गौरव गर्दै आएको सारा नेपालीहरुको शिर निहुरिएका छ । नेपालमा बुद्धका मूर्तिहरु तोडफोड गरेका घृणित र अमानवीय क्रियाकलापको बौद्धधर्मावलम्वीहरुमात्र नभई सबै शान्तिप्रीय मानिसहरुले भत्र्सना गरेका छन् ।

आगामी नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र नजिक शाक्यमुनि बुद्धका मूर्तिहरु अपमानजनक ढंगले बदनियतपूर्वक तोडफोड गरेको घटनामा नेपाल सरकार संवेदनशील देखिएको छैन । नेपाल सरकारको संस्कृति मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको अवस्थामा नेपाल सरकारका प्रवक्ता एवं सूचना मन्त्री गोकुल बास्कोटाले बुद्धको मूर्तिहरु तोडफोड हुदैमा साम्प्रदायिक दंग फैलिन सक्दैन भनेर दिएको गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति खेदजनक रहेको छ ।

विश्व शान्तिको प्रतीक भगवान बुद्धका मूर्तिहरु तोडफोड गरी धार्मिक, सांस्कृतिक र सामाजिक सदभाव खल्बल्याउने कुकर्म निन्दनीय भएकोले यस घटनामा संलग्न दोषीलाई नेपाल सरकारले अविलम्ब पक्राउ गरी कडा कारबाही गर्नुपर्दछ । नेपाल बहुजातीय एवं बहुधार्मिक राष्ट्र भएकोले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने कामलाई निरुत्साहित गरी धार्मिक र सामाजिक सद्भाव कायम गर्नु सबै नेपालीहरुको साझा दायित्व हो ।

                                                                         लेखक – लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव हुन ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ४४ बजे