बौद्धधर्मवलाम्बीको महत्वपुर्ण पर्व धर्म चक्र प्रवर्तन दिवस ( क्षोखोर धुछेन ) को अवसर पारेर न्युयोर्कमा शेर्पा समुदायले टुक्पा छेची पुजा र मणि क्षोखोर कार्यक्रम भव्यताका साथ मनायो । धार्मिक मान्यता अनुसार भगवान शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गर्नु भएको सातौ हप्तामा देवराज इन्द्र र ब्रम्हाको आग्रह अनुसार पहिलो पटक पञ्च भद्र वर्गीय भिक्षुहरुलाई चार आर्य सत्यको धर्म देशना गरि धर्म चक्र प्रवर्तन गर्नु भएको पुण्य तिथिमा यो पर्व मनाउदै आएको छ । यो अवसरमा बौद्धधर्मवलाम्बीहरु गुम्बा र विहारहरुमा उपस्थित भई विभिन्न कुशल कर्मका माध्यामबाट पाप आवरण नष्ट गर्ने र पुण्य सन्चय गर्ने कार्य गर्दछ । यो विशेष दिनको अवसर पारेर न्युयोर्कबासी शेर्पा समुदायले पनि हरेक वर्ष झै यस वर्ष पनि शेर्पा किदुगको गुम्बामा टुक्पा छेची आयोजक समिति बनाएर धार्मिक र सास्कृतिक ढंगले कार्यक्रम आयोजना गरियो ।
यस पटक शेर्पा किदुगको ४८ जना सदस्यहरु सम्मिलित आयोजक समितिद्धारा आयोजित टुक्पाछेची विहानी ९ बजेदेखि पुजाको साथै रिग्सुङ लोप्टका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढकले टुक्पा छेचीको बारेमा प्रवचन र दिउसो खानापछि उपस्थित सवै गोलोकारमा आर्य आवलोकेश्वरलाई ढोग्दै र मणि मन्त्र गीतको भाकामा गाएर नाचेका थिए । धार्मिक मान्यता अनुसार बाह्रौं शताब्दिका तेर्तोन् गुरु क्षोकी वाङ्छुकले प्राप्त गर्नु भएको निधिद्वारा निर्देशित यस नाचमा लामागुरुहरुले गीति शैलीमा आर्यअवलोकिश्वरको स्तुति बाचन गर्ने र उपासक उपासिकाहरुले लाइनबद्ध भई मीठो लयमा मणि मन्त्र जप्दै नाच्ने गर्दछ्न् । त्यही परम्परालाई निरन्तर दिदै टुक्पा छेचीमा उपस्थित सहाभागीहरुले देश विदेश सवैतिर आर्य अवलोकतेश्वरालाई खादा चढाई मन्त्र जप गरि नाच्ने गरेका छन । धर्म गुरुहरुका अनुसार धर्ममा कुनै रुचि नै नभएकाहरुलाई रुचि जगाउने उपाय स्वरुप गुरु क्षोकी वाङ्छुकले प्रतिपादन गर्नु भएको नाचलाई मणि क्षोखोर नाच भन्ने गरेको भनाई रहेको छ । यस पटकको टुक्पाछेची आयोजक समितिका सदस्यहरुलाई धन्यवाद स्वरुप शेर्पा किदुगको धर्मिक गतिविधि विभागका संयोजक पासाङ दिकी शेर्पाले खादा लगाइ दिएका थिए ।