काठमाडौं । आज २५ औं विश्व आदिवासी दिवस । नेपालभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक अगष्ट ९ मा मनाइने आदिवासी दिवस यसपटक भने आन्दोलनका रुपमा मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको माइतीघरमा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने छ ।
भृकुटीमण्डपबाट र्यालीसहित शुरु हुने कार्यक्रम माइतीघरमा पुगेर सभामा परिणत हुनेछ ।
विश्वभरका आदिवासीहरू रजत वर्ष २५औँ विश्व आदिवासी दिवसलाई पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष/आन्दोलनको रुपमा भव्यताका साथ मनाइरहँदा नेपालका आदिवासी जनजातिहरूले पनि रजत वर्ष २५औँ विश्व आदिवासी दिवसलाई आदिबासी भाषा भन्ने विश्वव्यापी नारासहित ‘पहिचान सहितको संघीयता र स्वायत्तता/स्वशासनका लागि संविधान संशोधन हाम्रो साझा अभियान । २५औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन ।।” भन्ने मूल नाराको साथ महासंघलगायत सम्बद्ध संस्थाहरु जुटेको अध्यक्ष जगत बरामले जानकारी दिए ।
‘२०७६ साउन २४ गते शुक्रबारका दिनलाई आदिवासीको सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइने जानकारी गराउँदछौं,’ महासंघका अध्यक्ष बरामले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, आन्दोलनको कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाको हकमा देहायबमोजिम हुने र्याली र मूल समारोहमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन)को तपाईं सम्पूर्ण सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू नेफिनका प्रदेश र जिल्ला समन्वय परिषद्हरूको तर्फबाट आफ्नो सांगठनिक पहिचानसहित सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहितको र्याली र मूल समारोहमा व्यापक जनपरिचालन गर्न गराउन र सक्रिय सहभागिताका लागि विशेष अनुरोध गर्दछौं ।’ आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।