५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

न्युयोर्कमा ‘घिन्ताङ घिसी’का साथमा गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव सम्पन्न


३ भाद्र २०७६, मंगलबार  

0
Shares

मच्छे गुरुङ/न्युयोर्क

नेपालमा बर्षेनी मनाउँदै आएको गाईजात्राको अवसर पारेर न्युयोर्कमा पनि पहिलो पटक गाईजात्रा हास्यव्यंग्य महोत्सव आयोजना भएको छ । टुटुल्को डटकमको आयोजनामा भएको महोत्सव न्युयोर्कको क्वीन्स लाइब्रेरीमा भएको हो । महोत्सवमा समाजमा विद्यमान विभिन्न क्षेत्रमा देखिएका विकृतिहरुप्रति व्यंग्यत्माक ढंगले प्रस्तुत गरिएको थियो ।

न्युयोर्कमा रहेका केही कलाकारको साथमा भएको रोचक र घोचक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । प्रवासमा जन्मेर हुर्केका नयाँ पुस्तालाई जानकारी आफ्नो संस्कृतिबारे जानकारी दिन, संस्कृतिलाई विदेशी भूमिमा निरन्तरता दिन, संस्कृति प्रचारप्रसार गराउन तथा संस्कृतिको संवद्र्धनका लागि गाइजात्रा महोत्सवको आयोजना गरिएको कार्यक्रमको संयोजक ज्योति श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा व्यस्त अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन नसक्दा बालबालिकामा परेको असरलाई साना नानी बाबुहरुले रकपपमार्फत प्रस्तुति गर्दा सबै अभिभावकहरुले ताली बजाउँदै ‘वान्स मोर’ गरी हौस्याएका थिए । त्यस्तै विदेशमा श्रीमान र परिवार नेपालमा हुँदा दुरीमा रहेको सम्बन्धमा समाजमा उत्पन्न समस्याप्रति विमल डाँगीले लोक गीतमार्फत प्रस्तुति दिए । गायक न्हुच्छे डंगोल, अभय ढुंगेल, गायिका संगीता छोचुनलगायतले प्यारोडी गीतमार्फत गणतन्त्रपछि एउटा राजा फ्यालेर सयौं राजा जन्माएका व्यंग्य गर्दै राजनीतिक नेताहरुको गैरजिम्मेवारीपनका कारण देशमा विभिन्न आयोजना अलपत्र अवस्थामा रहेको, भ्रष्टाचारीहरु खुलेआम हिंड्ने गरेको, सुन काण्ड, निर्मला काण्ड, एनसेल प्रकरण जस्ता विषयलाई सरकारले प्राथमिकतामा नराखेकोप्रति व्यंग्य गरेका थिए । महोत्सवमा भक्तपुरको गाईजात्राको झलकको रुपमा घिन्ताङ घिसी नाच पनि देखाइएको थियो । १०, १२ उमेरका बालबालिकाले नेवारी पोशाकमा घिन्ताङ घिसी प्रस्तुत गरेका थिए ।

कलाकार नादिया लिवाङ र संगीता उपे्रती रिजालले आफ्नो देशको माटोसम्बन्धी लघु नाटक प्रस्तुत गर्दा हलमा उपस्थित अधिकांश दर्शकको आँखा रसाए । नेपालीहरु रहरले भन्दा पनि बाध्यताले गर्दा विदेशमा पलायन भएको र विदेशमा रहदा पनि विभिन्न संघ संस्थामा लागेर गर्भवती अवस्थामा रहेको श्रीमतीलाई समेत समय दिन नसकेको यथार्थलाई नाटकमा मार्मिक रुपमा प्रस्तुत गरिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएन), विभिन्न राजनीतिक भातृ संगठनमा देखिएको विकृतिलाई नाटकमार्फत गरिएको व्यंग्य गरिएको थियो । त्यस्तै गैरजिम्मेवार श्रीमानदेखि वाक्क भएर नेपाल फर्कन लाग्दा श्रीमतीले बोकेको झोला खोसाखोस गर्दा झोलामा बोकेको माटो र झण्डा भुइमा पोखिदा नीतीको भूमिकामा रहेकी नादियाको प्रस्तुतिले दर्शकको आँखामा आँशु छचल्किएको थियो ।

विदेशमा रहेका नेपालीले माटोलाई बिर्सेको सन्दर्भलाई नादियाले माटोको मायाले सधैं झोलामा बोकेको दृश्य वास्तवमै मर्मश्पर्शी थियो । नेपाललाई सीपयुक्त युवाहरुको खाँचो भएकोले देश निर्माणमा जुट्न देश फर्क अभियान चलाउने नादिया र संगीताको अभियान नाटकमा भावनात्मक देखिए पनि यो आजको आवश्यकता नै हो । स्थानीय कलाकारको प्रस्तुतिले कार्यक्रमलाई सन्देशमूलक, व्यंग्यात्मक तथा थप मनोरञ्जनात्मक बनाएको थियो । निर्धारित समयभन्दा १० मिनेटपछि मात्रै सञ्चारकर्मी शैलेश श्रेष्ठले औपचारिक शुरु भएको जानकारी गराउँदै कलाकारहरुको प्रस्तुति पस्केका थिए । गाईजात्रा विशेष गरी गएको वर्षभरी आफन्त गुमाएका परिवारले मृतकको सम्झनामा राजा प्रताप मल्लको पालादेखि मनाउने गरिएको पर्व हो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ५४ बजे