७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

हङकङेली नेपालीको दु:ख बुझेर बिदाईमै भक्कानिए भावेश


२३ भाद्र २०७६, सोमबार  

0
Shares

हङकङ । नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन बिदाई गरेको छ । ‘भावेश भुमरी एकल सिर्जना साँझ २०१९’ का लागि अगस्त १७ मा हङकङ आइपुगेका भुमरी सेप्टेम्बर ३ का दिन नेपाल फर्केका छन् ।

मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेशले हङकङेली नेपालीले दिएको मायालाई अन्तर्मनदेखि सम्झेका थिए । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीको दैनिकीबाट आफू प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए भावेश । उनले हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । ‘यता नेपाली हङकङ निर्माणमा १४ घन्टा खटिन्छन्, उता नेपाली दिनभरि चियागफमा नेपाल निर्माणका फजुल कुरा गर्छन्,’  भुमरीले भने ।

भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङहङेली नेपालीले पाँच छपटक आफ्नो कपडाबाट पसिना निचोरेको वास्तविताले आफूलाई द्रविभूत बनाएको बताए । त्यसरी कमाएको पैसा नेपाल र नेपालीका दुखमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् भएको उल्लेख गर्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । उनले आफूलाई हङकङसम्म ल्याएर एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेशलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व र पश्चिमलाई जोड्ने काम भएको बताए । आफू संखुवासभाको भएको र मध्यपश्चिम प्यूठानका साहित्यकार भावेशलाई बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु भएको उनको भनाई थियो । मध्यपश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आएका नेपालीले बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । ‘हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ,’ राईले भने ।

राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन नसकेको दाबी गरे । उनले थपे, ‘एउटा कलाकार आएको भए हाम्रा सुख मात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चारपाँचचोटि निचोरेको वास्तकिता देखे । चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा झोलामा राखी काममा कुदेका नेपालीले पसिना पुछ्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु ।’ राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत राखे ।

गत अगस्त २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ११ : ०६ बजे