१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेवा: नख: न्युयोर्कको आयोजनामा छैठौं सामुहिक ईही


२५ भाद्र २०७६, बुधबार  

0
Shares

न्युयोर्क । नेवा: नख: न्युयोर्कको आयोजनामा नेपाल संवत ११३९ यंलाथ्व नवमी  सेप्टेम्बर ७ का दिन न्युयोर्कमा छैठौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समान्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराएका हुन् । उनलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख: का प्रथम उपाध्यक्ष महेन्द्रबिर बज्राचार्यले कर्ता भै  सहयोग गरी पूजा गरेका थिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा सेलिन श्रेष्ठ, आन्या श्रेष्ठ, अंकिता श्रेष्ठ र टिस्सा महर्जन सहभागी थिए भने कार्यक्रममा सहभागी बालिकाका अभिभावक-आफन्तकहरू एवं बिभिन्न संस्थाका प्रतिनिधि, पत्रकार र अतिथीको उपस्थिति थियो ।

नख:का महा सचिव डा. नरेश मान शाक्यले सम्पूर्ण अतिथि र सहभागीलाई स्वागत गरी कार्यसमितीका पदाधिकारीको परिचयबाट सुरू गिरिएको कार्यक्रममा नख:का अध्यक्ष विष्णुमान प्रधान, प्रथम उपाध्यक्ष महेन्द्रबीर बज्राचार्य, महा सचिव डा. नरेशमान शाक्य सह-कोषाध्यक्ष सुजन श्रेष्ठले ईही गर्ने बालिकालाई सहभागिताको प्रशंसाको प्रमाण-पत्र प्रदान गरे । अन्त्यमा, अध्यक्ष प्रधानले कार्यक्रममा उपस्थित सबै अभिभावक, अतिथि, पत्रकार, संस्थाका प्रतिनिधि र सहयोगीलाई धन्यवाद व्यक्त गर्नुका साथै सबै सहभागी बालिकाहरूलाई मायाको चिनो बितरण गरी उनीहरूको उज्जल भबिष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

नख:का सचिव संगीता मुखिया छोचूं, सदस्य नम्रता प्रधान, श्रुती अमात्य, लघु शाक्य, अनिता बज्राचार्य, मैना बज्राचार्य, कान्ति डंगोल, कमला प्रधान र मोहिनी कर्माचार्यले पूजा तयारी र सगुन वितरण गरेका थिए, संस्थाका सल्लाहाकार अजय मान छोचूं, सदस्य महेन्द्रकुमार बज्राचार्य, गौतम कर्माचार्य, पूर्व कोषाध्यक्ष दिपककुमार प्रधान, जेनिश कर्माचार्यहरूले अतिथीको सत्कार गरी समय बजी खुवाएका थिए भने मुनिन्द्र बज्राचार्यले कार्यक्रमको फोटोग्राफी गरेका थिए।

नेवा: नख: न्युयोर्क नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनका लागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

अमेरिकाबाट नेपालसम्म गएर ईही गर्दा खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिका लाभान्वित भएको आयोजक संस्था नेवा: नख: न्युयोर्कका अध्यक्ष प्रधानले जानकारी दिए । यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परासमेत संरक्षण र प्रवर्द्धन हुने उनको भनाई थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : २१ बजे