३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

नेपाललाई अमेरिकी सहयोग जारी रहने



अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग बिहीबार अर्थमन्त्रालयमा शिष्टाचार भेट गर्दै अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने पनि बताएको राससले जनाएको छ । प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनको भनाई थियो ।

मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिएका थिए ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ५ : १४ बजे