न्यूयोर्कका पूर्व मेयर तथा अर्बपति ब्लूमबर्ग राष्ट्रपतिको उम्मेदवार हुने तयारीमा

२०७६ कार्तिक २२, शुक्रबार १४:१५

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर तथा अर्बपति व्यापारी माइकल ब्लूमबर्गले अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट ब्लूमबर्ग उम्मेदवार बन्ने भएका हुन । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् ।

ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताउँदै आएपनि अन्तिममा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनका एक सल्लाहकारले ब्लूमबर्गले यसबारे निर्णय गरिनसकेको बताए ।

अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षरसहित आवेदन गर्न पठाएका छन् । अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो ।

अलाबामा राज्यमा प्राथमिक चुनाव र आवेदनको म्याद पनि पहिले सकिन्छ ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

ब्लूमबर्गको उपस्थितिले डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार हुन चाहनेका आकाँक्षीको भिडमा अरु एक व्यक्ति थपिनेछन् । हाल १७ जना नेता उम्मेदवारी दौडमा छन् ।

सम्बन्धित समाचार