११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मंसिर १४ मा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन



काठमाडौं– म‌ंसिर १४ मा रिक्त रहेका संघीय संसद्, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदै छ । ३७ जिल्लामा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५३ पदका लागि निर्वाचन हुँदै छ ।

प्रतिनिधि सभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ वाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को ‘ख’, भक्तपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ‘क’, दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा मंसिर १४ गते चुनाव हुँदै छ ।

एक प्रतिनिधि सभा र ३ प्रदेश सभा सदस्यका लागि ५५ पुरुष र ९ महिला गरी ५५ जना चुनावी मैदानमा छन् । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका ५५ उमेद्‌वारलाई बुधबार निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

कास्की २ को प्रतिनिधि सभा सदस्य पदमा ११ राजनीतिक दलका र १० स्वतन्त्र गरी २१ जना उमेद्‌वार चुनावी मैदानमा छन् । भक्तपुरको १ ‘क’ मा दलबाट ९ जना र स्वतन्त्र १० गरी १९ जनाले निर्वाचन चिन्ह पाएका छन् । बागलुङ २ ‘ख’ मा ८ दलबाट र २ स्वतन्त्र गरी १० उमेद्‌वार छन् । दाङ ३ ‘ख’ मा दलबाट १२ र २ स्वतन्त्र गरी १४ जना प्रतिष्पर्धामा छन् ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचन हुँदै छ । निर्वाचन हुने ३७ जिल्लामध्ये तराइ/मधेसका मात्रै १५ जिल्ला छन् ।

स्थानीय तहका लागि बिहीबार उमेद्‌वारीको समय तोकिएको छ । आयोगले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेद्‌वारी दिन सक्ने तालिका सार्वजनिक गरेको छ ।

उपनिर्वाचनमा सेना, प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने गरी सुरक्षा कार्ययोजना तय भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा म्यादी प्रहरी नभएका कारण सम्वन्धित जिल्ला र अपुग भए अन्य जिल्लाबाट समेत निर्वाचन सुरक्षा प्रदान गर्न सेना, प्रहरी र सशस्त्रका जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ ।

कुन-कुन स्थानीय तहमा हुँदैछ ?

धरान उपमहानगरपालिका : प्रमुख (सुनसरी)

फाल्गुनन्द गाउँपालिका : अध्यक्ष (पाँचथर)

मकालु गाउँपालिका : अध्यक्ष (संखुवासभा)

पिपरा गाउँपालिका : अध्यक्ष (महोत्तरी)

खार्पुनाथ गाउँपालिका : उपाध्यक्ष (हुम्ला)

३७ जिल्लामा ४३ वडाअध्यक्ष ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ४२ बजे