काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी संघीयताको अभ्यास बुझ्न जनकपुरमा छन्। प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेर उनले संघीयता कार्यान्वयनका अप्ठ्यारामा चासो देखाइरहेका छन्।
राजदूत बेरीले मुख्यमन्त्री निवास मधेस भवनमा सोमबार राति मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासित एक घण्टा कुराकानी गरेका थिए।
राजदूत बेरीले मुख्यमन्त्री राउतसित संघीयताको अवसर र चुनौतीबारे जिज्ञासा राखेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । राजदूत बेरीसँग भेटे पछि मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा बुधबार अमेरिका जाँदै छन् ।
अमेरिकी दूतावासका दुई टोलीमध्ये राजनीतिक अधिकारी सम्मिलित टोलीले राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, प्रदेश सांसद र अन्य विभिन्न क्षेत्रका अगुवासित भेट गरेका छन् । दोस्रो टोली अमेरिकी राजदूत बेरीको नेतृत्वमा छ। बेरीसँगै दूतावासकी राजनीतिक विज्ञ रोजी कट्टेल पनि छिन्।
जनकपुरको वेलकम होटलमा राजदूत बेरीले नेकपाका प्रदेशसभा सांसद रामचन्द्र मण्डल र मञ्जु यादव, राष्ट्रिय जनता पार्टी (राजपा) का नेता विजय सिंह, नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद मुक्ता यादव, समाजवादी पार्टीका नेता रामस्वार्थ राय र राजपाका प्रवक्ता कृष्णा सिंहसित संघीयताको अवसर र चुनौतीबारे छलफल गरे।
राजदूत बेरीले मंगलबार जानकी मन्दिर पुगेर पूजापाठ समेत गरेका थिए । उनी बुधबार काठमाडौं फर्कने छन् ।