३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

अध्यक्ष डिभी परेर अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन



हेटौंडा– मकवानपुरको भिमफेदी गाउँपालिका–८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि वडा कार्यालयको काम प्रभावित भएको छ ।

७ महिना अघि अध्यक्ष अमेरिका गएयता वडामा सार्वजनिक सेवा र विकास निर्माणका काम प्रभावित बनेका छन् । अमेरिका गएका वडाध्यक्षले समयमै राजीनामासमेत नदिएकाले यहाँ उपनिर्वाचनसमेत नहुने भएको छ ।

२०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएका थिए । उनी वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गएका हुन् । घिसिङको हस्तलिखित राजीनामा नआएकाले उपनिर्वाचन समेत गराउन नसकिएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

अमेरिका गएको ५ महिनापछि अध्यक्ष घिसिङले इमेलमार्फत राजीनामा दिएका थिए । तर हस्तलिखित राजीनामा हुनुपर्ने प्रावधान भएकाले यो वडालाई उपनिर्वाचनमा समेट्न सकिएको छैन । जुनसुकै माध्यमबाट आए पनि हस्तलिखित राजीनामा हुनुपर्ने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी परेर अमेरिका उडेका हुन् । उडेको पाँच महिनापछि गत भाद्रमा घिसिङले इमेलबाट गाउँपालिकामा राजीनामा दिएका थिए । उनले सुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका थिए । ५ महिनासम्म अमेरिकामै रहेको समाचार सार्वजनिक भएपछि उनले इमेलमार्फत राजीनामा पठाएका थिए ।

भदौमा इमेलमार्फत राजीनामा दिनुभएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ ।

देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ ।

२०७४ को निर्वाचनमा नेकपाबाट घिसिङ ५४१ मत ल्याएर जितेका थिए । राप्रपाका सुन्दर राउतले २२३ मत र कांग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत पाएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ११ : ३६ बजे