- लक्ष्मी श्रेष्ठ-
साथी,
तिम्रो यादमा धेरैबेर एक्लै टोलाईरहें
एकोहोरो पर क्षित्तिजमा नियाल्रिरहेँ
कतै तिम्रो प्रतिबिम्ब पो देख्छु कि भनि!
बादललाई सोधें कतै उसले पो भेट्यो कि भनि
सागरलाई सोधें कतै उसले पो निल्यो कि भनि!
हावाका सुस्केराहरुसंग कानेखुसी गरें
कतै उसले पो तिमीलाई भुमरीमा बेर्यौ कि भनि!
कोठाका प्रत्येक कुना काप्चामा खोजें
कतै तिमीले हामीसंग लुकामारी पो खेल्यौ कि भनि!
खै! कसैले तिमीलाई भेंट्यौ भनेनन्
कसैले तिमीलाई देख्यौं भनेनन्!
तिम्रो तस्बिर लिएर एक तमासले घोरिईरहें
तिम्रा निश्चल आँखाहरुले मलाई हेरीरह्यो
फर्फराएका तिम्रा ओंठहरुले केही भन्न खोजे झैं लाग्यो
तिमीसंगको बिछोडमा रुझिरहेका मेरा परेलीहरु
तिम्रा कोमल औंलाहरुले पुछीदिए झैं लाग्यो!
म चुपचाप तस्बिर नियालीरहें
तिमी संधै झै मुस्कुराउँदै मेरो अगाडि उभियौ
म दंग परेर संधै झै तिमीलाई अंगाल्न खोजें
एक्कासी तिमी खित्खिताएर हाँस्न थाल्यौ
एक्कैछिन मा झलमल्ल ताराहरु तिम्रो वरिपरी छरिए
तिम्रो मायालु अनुहार गम्भीर देखियो
हेर्दा हेर्दै तिमी मसंग पर पर हुंदै
ति ताराहरुको पछि पछि लाग्दै फेरी मबाट टाढा गयौ
उफ…… लामो सुस्केरा हाल्दै म भूईंमा थचक्क बसें
मेरा आँखाहरुले तिमीलाई पछ्याईरह्यो
पछ्याउँदा(पछ्याउँदै तिमी आकाशमा गएर टक्क रोकियौ
आँखा झिमिक्क नगरी म आकाशमा हेर्न थालें
साथी,
तिमीलाई पहिल्याउन मलाई पटक्कै गाह्रो भएन
लाखौं ताराहरुको विचमा तिमी चम्कन थाल्यौ!
एकपटक लामो स्वास फेरें….
फेरी एकपटक तिमी मलाई हेरेर मुसुक्क हाँस्यौ
अघाउन्जेल तिमीलाई हेरीरहें ….हेरीरहें…….!!!
(एभरेस्ट टाइम्स वर्ष १२ अंक २ मा प्रकाशित सामाग्री)