२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रधानमन्त्री



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद विवाद समाधान गर्नतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उनले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताए ।

‘अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्,’ उनले भने, ‘त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणले हाम्रो भूमि भनेर देखाउँछ ।’ उनले सयौं वर्षदेखि त्यसमा ध्यान नजाँदा नेपालको त्यो भूमि भारतले दाबी गरेको बताए।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी विवादको समाधानबाट नेपाल र भारतजस्ता दुई पुराना ऐतिहासिक छिमेकीको सम्बन्ध सुमधुर र राम्रो हुने भनाइ राखेका छन् । ‘यो विवाद समाधान गरेर दुवै देशको इज्जत, प्रतिष्ठा माथि उठ्ने छ, भारत ठूलो देश भएकाले सानो देशलाई मिच्यो हेप्यो भन्ने अफवाहबाट मुक्त हुने छ, भारत साँच्चिकै महान् रहेछ भन्ने देखाउने छ,’ उनले भने, ‘हामीले साँच्चै आफ्नो भूमि फिर्ता पायौँ भने हामी पनि खुशी हुने छौँ । मलाई विश्वास छ हामीले संवादको माध्यमबाट भूमि फिर्ता लिन सक्छौं।’

उनले नयाँ शिराबाट सीमा विवाद उठेकाले राम्रो भएको भन्दै लिम्पियाधुराबाट निस्केको महाकाली नदी नै वास्तविक सीमा रहेको बताए । ‘महाकालीको उद्गम लिम्यिाधुरा हो । पानी र सम्बन्धित सिद्धान्तले त्यही भन्छ । हामीले विगतमा गरेको जनगणना र जग्गाको नापजाँच पासले पनि त्यो भूभाग हाम्रो हो । बीचमा हाम्रो भूभाग छुटेको मात्र हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा मन्त्रालयबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै हरेक मन्त्रालयलाई आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र प्रतिवेदनसमेत तयार गर्न निर्देशन दिएका छन् ।

विकासनिर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीको भनाइ थियो । निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैँ धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ तर जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ०२ बजे