काठमाडौं : नेपालमा कम उमेरमै सुर्तीजन्य पदार्थ सेवन र मद्यपान गर्नेको संख्या बढेको पाइएको छ । यसले मुलुकमा क्यान्सर र मुटुरोगको जोखिम समेत बढाएको छ।
कलिलै उमेरमा धुमपान एवं मद्यपान गर्ने प्रवृत्तिले नसर्ने रोगको जोखिम बढाएको छ।
नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण, २०१९ अनुसार दैनिक भोजन पर्याप्त पोषणयुक्त नभएको र शारीरिक क्रियाकलापमा कमी आएको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाअनुसार, चुरोट भन्दा पनि खैनी एवं गुट्का खानेको संख्या बढ्दै गएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) एवं स्वास्थ्य अनुसन्धान परिषद्ले पाँच हजार ५ सय ९३ जनामा सर्भेक्षण गरेको हो । परिषद्ले १५ वर्षदेखि ६९ वर्ष उमेर समूहका वयस्कको जनसंख्यामा आधारित सर्वेक्षणमा खराब आहारविहारकै स्वास्थ्य जोखिम बढेको तथ्य सार्वजनिक भएको छ।
सुर्तीजन्य पदार्थका अम्मली सबैभन्दा बढी प्रदेश ५ मा देखिएका भने धुमपान गर्ने सुदूरपश्चिममा बढी छन्। प्रदेश ५ मा ३६ दशमलव ६ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । सुदूरपश्चिम क्षेत्रमा ३३ दशमलव ८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। प्रदेश २ र कर्णाली प्रदेशमा सुर्तीजन्य पदार्थ सेवन गर्ने २९ दशमलव ७ प्रतिशत छन्। गण्डकी प्रदेशमा २५ दशमलव ९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। प्रदेश १ मा २२ दशमलव ८ र प्रदेश ३ मा २२ दशमलव २ प्रतिशत धुमपानका अम्मली पाइएका छन्।
सुर्तीजन्य वस्तु सेवन गर्नेहरुले एक महिनामा एक हजार ५० रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। मद्यपान सेवन गर्नेको संख्या झण्डै ६८ प्रतिशत रहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ। धुमपान एवं मद्यपान गर्नेलाई क्यान्सर, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या बढ्ने विज्ञहरु बताउँछन्।
१८ वर्षपछि धुमपानको सुरुवात गर्ने बानी देखिएको छ। कलिलै उमेरमा धुमपान गर्ने प्रबृतिले रोगको जोखिम र खर्च समेत बढाएको छ । क्यान्सर, उच्चरक्तचाप र मुटुसम्बन्धी लगायत नसर्ने रोगको जोखिमबाट बच्न व्यवहारमा परिवर्तन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।