५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

किन घट्यो रेमिट्यान्स



काठमाडौं— राष्ट्र बैंकको तीन महिनाको प्रतिवेदनमा पछिल्ला दुई महिनामा रेमिट्यान्स घटेको देखिएको छ । गत भदौमा ० दशमलव ३ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा ५ प्रतिशत घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत असोजसम्म विभिन्न मुलुकबाट २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ४ दशमलव ६ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह साढे २४ प्रतिशतले बढेको प्रतिवेदनमा छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा गत असोजमा रेमिट्यान्स ४ दमशलव ९ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको असोजसम्म २ खर्ब ४२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। रोजगारीमा मलेसिया जाने नेपालीको संख्यामा कमी आउनु, विदेशी मुद्रा सटहीमा भएको कडाइलगायत कारण रेमिट्यान्स घट्न थालेको अर्थविद्हरू बताउँछन्।

रेमिट्यान्स वृद्धिदर केही वर्षयता निरन्तर घट्दै आएको थियो। यो वर्ष डलरको मूल्य घट्यो भने निक्षेपको ब्याजदर अपेक्षित रूपमा बढेन।

यसैगरी रोजगारीमा जाने नेपालीको संख्या पनि घट्दो छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ दशमलव ७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४ दशमलव ८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ० दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ७ प्रतिशतले घटेको थियो ।

विगतका वर्षमा अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ठूलो थियो। त्यतिबेला कुल आयात रकमभन्दा धेरै रेमिट्यान्स आउँथ्यो। रेमिट्यान्सले आयातबाट बाहिरिने पैसा पूर्ति गर्थ्यो। अहिले रेमिट्यान्सबाट आएको पैसाले मात्र आयात थेग्न सक्ने अवस्था छैन।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : २९ बजे