हङकङ– चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो ।
चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री चङ चक्वाङले हङकङ मानवाधिकार एवं लोकतन्त्र विधेयकप्रति आपत्ति प्रकट गरेका छन् । चीनले अमेरिकासँग उक्त विधेयक रद्द गर्न आग्रह समेत गरेको छ ।
हङकङमा आन्दोलन गर्दै आएका पक्षको समर्थनमा गरेको कामका लागि अमेरिका सबै खालका परिणामा भोग्न तयार हुनुपर्ने उनले चेतावनी पनि दिएका छन् । अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने पनि उनले स्पष्ट पारेका छन् ।
उक्त विधेयकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हस्ताक्षर हुन बाँकी छ । आउँदो शुक्रबार उक्त विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने कार्यक्रम छ । हस्ताक्षर आगामी सोमबारसम्म भइसक्नुपर्नेछ ।
विधेयकले मानव अधिकार उल्लंघन भएको भन्दै चीन एवं हङकङका अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । अमेरिकी विदेश मन्त्रालयले हङकङलाई दिँदै आएको विशेष स्वायत्त दर्जाको वार्षिक समीक्षा गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
अमेरिकाले हङकङलाई व्यापारमा विशेष सहुलियत दिँदै आएको छ ।अमेरिकी राजदूतले ब्रेनस्टेडले भने हङकङ आन्दोलनप्रति अमेरिकी सद्भाव रहेको बताएका छन् । उनले यसै साता भएको निर्वाचनले हङकङवासीको प्रजातन्त्रप्रतिको समर्थन देखाएको बताएका छन् ।
हालै हङकङमा भएको निर्वाचनमा सरकारविरोधी दलले अत्यधिक बहुमत हासिल गरेको छ । हङकङका १८ स्थानीय निकायमध्ये १७ वटामा विपक्षीले जित हात पारेका छन् ।