प्रधानमन्‍त्री खतरामुक्त, एक हप्ता अस्पतालमै बस्नुपर्ने

२०७६ मंसिर १३, शुक्रबार १४:५०

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ। तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ। त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्,’ उनले भनिन् ।

मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री ओली अस्पतालमै छन्। बुधबारदेखि ओली सामान्य उठबस गर्न थालेका छन्।

पेट दु:खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे चिकित्सकहरुले सत्यतथ्य सार्वजनिक नगरेको भनेर आलोचना बढेपछि उनको उपचारका संलग्न चिकित्कसहरुले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेका हुन्।

सम्बन्धित समाचार