पोखरा– कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ ।
उक्त् क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनको प्रावधान छ ।
कास्की–२ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो ।
चुनावी मैदानमा २१ जनामध्ये ५ मत कटाउन नसकेका उम्मेदवार ६ जना छन् । स्वतन्त्र उम्मेदवार दुई जनाले एक–एक मत, तीन जनाले ४–४ मत र एक जनाले ५ मत पाएका छन् ।
राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र पाए ।
त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राप्रपा (संयुक्त) की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा (माले) का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत ल्याए।
स्वतन्त्र उमेद्वार उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाएका छन् ।